सुदूर नेपाललाई विश्वसँग जोड्दै

मौसम सफा हुन अझै केही दिन लाग्ने

२०७७ माघ ४, ०१:४८ रासस

काठमाडौँ : मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । 

देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । उक्त प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने भएकाले मौसम पूर्णरुपमा सफा हुन केही दिन लाग्ने भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताए । 

उनका अनुसार तत्काल वर्षा हुने सम्भावना भने रहेको छैन । वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेकाले वर्षाको सम्भावना नभएको बताइएको छ । वर्षा हुनका लागि प्रयाप्त मात्रामा जलवाष्युक्त हावा प्रवेश हुनुपर्दछ । अहिले त्यो भएको छैन । 

गत वर्ष डिसेम्बर वा जनवरीभित्रै हिउँदे वर्षा भएको थियो । यसवर्ष अहिलेसम्म हिउँदे वर्षा हुनसकेको छैन् । (मङ्सिर, पुस र माघ) महिनामा ३.५ प्रतिशत वर्षा हुने गर्दछ । यस वर्ष माघ सुरु भइसक्दा पनि हिउँदे वर्षा भएको छैन । हाल देशका प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री र अधिकतम तापक्रम १९.५ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबै भन्दा कम जोमसोमको न्यूनतम तापक्रम माइनस २.६ डिग्री र सबै भन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

कमेन्ट लोड गर्नुस