सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालीको नियती:आफ्नै खेतबारीमा जान कञ्चनपुरका किसानले भारतीय सँग अनुमति लिनुपर्छ

२०७७ माघ ४, ०६:५१ खबर संवाददाता

सरेन जैरू/कञ्चनपुरः शनिबार भारतीय पक्ष र नेपाली पक्षबीचको छलफलपछि मात्रै कञ्चनपुरकाे बेलौरी नगरपपालिका १० सडकघाटका किसानले आफ्नो खेतको उखु र तोरी बाली भित्र्याउन पाए।

पछिल्लो २ सातायता भारतीय एसएसबील सडकघाटस्थित ३४ र ३५ नम्बर पिल्लर रहेको दशगजा क्षेत्रका नेपाली किसानलाई आफ्नै खेतमा प्रवेश गर्न लगाएपछि उखु तथा तोरी काट्नबाट वञ्चित भएका थिए। एसएसबीले सडकमा हिड्न समेत रोक लगाएपछि खेतसम्म पुग्न नपाएका किसानहरूको उखु खेतमै सुक्न लागेकाे थियाे भने, तोरी बाली कुहिन थालेको थियो।

बेलौरी नगरपालिका १० का वडा अध्यक्ष हरिलाल चौधरीले शनिबारको छलफलपछि मात्रै भारतीय अधिकारीले नेपालीहरूलाई दशगजा क्षेत्र प्रयोग गर्न दिएको बताए। उनका अनुसार सडकघाटस्थित ३४ र ३५ नम्बर पिल्लर रहेको दशगजा क्षेत्रमा नेपाली किसानहरूले उखु तथा तोरी काट्न सुरू गरेका छन्। 

भारतीय एसएसबीले नेपाली पक्षलाई अवरोध गर्दै आएको यो पहिलो घटना भने होइन। बेलौरी नगरपालिका ८ मा निर्माणाधिन हुलाकी सडक खण्डमा समेत एसएबसीले पटक(पटक अवरोध पुगाउँदै आएको छ भने, सीमा क्षेत्रमा आवतजावत गर्दा नेपालीमाथि ज्यादती गर्ने गरेको दर्जनौँ घटना रहेका छन्। 

गत साउनमा मात्रै भीमदत्त नगरपालिका–९ ब्राम्हदेवमा दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा चार मुक्तहलिया परिवारको घर निर्माणमा एसएसबीले रोक लगाएको थियो। 

यसअघि गत पुस २० गते सीमावर्ती क्षेत्र कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा भारतीय पक्षले चलाएको गोली लागेर एक युवक घाइते भएका थिए भने, मंसिरमा भारतीय दुधुवा नेशनल पार्कमा कञ्चनपुरको पुनर्वास नगरपालिका ५ का ३५ वर्षीय शिवलाल राना गोली लागेकै अवस्था मृत भेटिएका थिए।

अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लभराज भट्टले भारतीय पक्षको पुर्वाग्रहपूर्ण र हेपाहा प्रवृत्तिले नेपालीमाथि बेलाबखतमा ज्यादती भइरहेको बताए। उनका अनुसार सिमांकनबारे दुवै देशबीच भएको सम्झौताअनुसार सीमा विवादको अन्तिम टुङ्गो नलागेसम्म चलनचल्तीकै आधारमा दुवै पक्षले समझदारीका आधारमा प्रयोग गर्ने भनिएको छ। तर यसको ठिक विपरित भारतीय एसएसबीले भने पटक–पटक नेपालीहरूलाई सास्ती दिँदै आएको छ।

उता कञ्चनपुर प्रशासनले खुला सीमा नाका प्रमुख समस्याका रुपमा देखिएको कारण यस्ता घटनाहरू दोहोरिरहको बताएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सीमाको विषय संवेदनशिल हुने भएकाले भइपरीआउने विभिन्न घटनालाई उत्तेजित नभएर, बल प्रयोग नगरेर समाधान गर्ने गरेको बताउँदै यस्ता समस्याहरू समाधान हुँदै गएरहेको तर्क गरे। 

तर भारतीय सीमा सुरक्षा बल एसएसबीका कारण सधैँ सास्ती खेप्नुपर्ने कञ्चनपुरका सीमावर्ती क्षेत्रका बासिन्दाको नियती नै बन्न थालेको छ। एसएसबीले अनावश्यक दुःख दिन थालेपछि दैनिक कामकाजमा समेतमा  बाधा व्यावधान हुन थालेको गुनासो बढ्न थालेको छ भने, भारतीय पक्षको हेपाह प्रवृत्तिप्रती नेपाली प्रशासन मुकदर्शक बनेको आरोप समेत लाग्न थालेको छ। 
 

कमेन्ट लोड गर्नुस