सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा हत्याका फरार अभियुक्त १० घण्टामै पक्राउ गर्ने इन्स्पेक्टरसहित ४ प्रहरी पुरस्कृत

२०७७ मंसिर १९, ०४:१८ खबर संवाददाता

धनगढीः डोटीमा बालिका हत्याका अभियुक्त अस्पतालबाट फरार भएको १० घण्टामै पक्राउ गर्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) सहितका ४ जना प्रहरी पुरस्कृत भएका छन्। 

बझाङकी १२ वर्षीया बालिकाको हत्या अभियोग लागेपछि पुर्पक्षका लागि कारागार चलान भएका मष्टा गाउँपालिकाका राजेन्द्र बोहोरा जिल्ला अस्पताल डोटीबाट भागेको १० घण्टामै पक्राउ गर्ने प्रहरी निरीक्षक कान्तिराज जोशीसहितका ४ प्रहरी पुरस्कृत भएका हुन्। 

पुरस्कृत हुनेमा प्रहरी निरीक्षक जोशी, प्रहरी सहायक निरीक्षक जगदिशप्रसाद भट्ट, प्रहरी जवानद्वय देवेन्द्र बहादुर सिह र दिनेश सुनार रहेका डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले दिनेशखबरलाई बताए। 

उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले रेर्कडमा रहनेगरी नगदसहित पुरस्कृत गरेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए। 

उनका अनुसार चारै जना प्रहरी जिल्ला प्रहरी कार्यांलयमै कार्यरत रहेका छन्।  

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले उत्कृष्ट काम गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिने संगठनको नीति रहेको बताए। 

उनले अस्पतालमा प्रहरीको निगरानीमै उपचार गराइरहेका अभियुक्त भागेपनि प्रहरीको सक्रियताले पुनः पक्राउ गर्न सफल भएको बताउँदै इमानदारी पूर्वक कार्य सम्पादन गर्न थप हौसला बढाउन प्रहरीहरुलाई पुरस्कृत गरिएको जनाए। 

बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका राजेन्द्र बोहोरा गएराति भागेका थिए। 

बाल सुधार गृह डोटीमा राखिएका बोहोरा कोरोना पुष्टि भएपछि जिल्ला अस्पताल डोटीको आइसोलेसनमा उपचार गराइरहेका बेला भागेका हुन्। 

उनलाई शुक्रबार बिहान पूर्वीचौकी गाउँपालिका क्षेत्रबाट प्रहरी निरीक्षक जोशीको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको थियो। 

बोहोरा गत असोजमा बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका थिए। उनलाई जिल्ला अदालतले

पुर्पक्षका लागि कारागार चलान गरेको थियो। तर उमेर कम भएका कारण बोहोरालाई बाल सुधार गृहमा राखिएको थियो।

बोहोराले सम्झनाको हत्या गर्नु पूर्व मष्टाकै १४ वर्षीया बालिकामाथि समेत जबरजस्तीकरणी गरेको घटना सार्वजनिक भएको थियो। 

सो घटनामा गाउँमै मिलापत्र गराउने ८ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो। उनीहरु धरौटीमा छुटेका छन्।

सम्बन्धित समाचार 

बालिका हत्या अभियुक्त फरार प्रकरण: जिप्रका डोटीका हवलदारसहित ३ प्रहरी निलम्बित

बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने किशोर फरार

डोटीमा भागेका बालिका हत्याका अभियुक्त पक्राउ
 
 


 

कमेन्ट लोड गर्नुस