सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब स्नातक तहको परीक्षा डेढ घण्टाको मात्रै, स्नातकोत्तर तहमा दुई घण्टा

२०७७ मंसिर १८, ०२:०६

काठमाडाैं: त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कायम रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो। स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने झण्डै चार दशक लामो अभ्यासलाई परिवर्तन गर्दै विश्वविद्यालयले परीक्षालाई अब दुई घण्टामा सीमित पार्ने निर्णय गरेको हो।

व्यवस्थापन सङ्कायका डीन प्रा.डा. डिल्लीराज शर्माले विश्वविद्यालयको कार्यकारी परिषद्ले कोरोना सङ्क्रमण अवधिमा परीक्षाको प्रावधान परिवर्तन गर्न सक्ने अधिकार दिएलगत्तै कार्यान्वयन शुरू गरिएको जानकारी दिए। प्राज्ञिक परिषद्बाट पारित गरी कार्यान्वयन गर्न लागिएको हो। मङ्सिर महिनामा सञ्चालन हुने स्नातकोत्तर तहको परीक्षाबाट यो प्रावधान कार्यान्वयनमा आउनेछ।

विद्यार्थीको हितमा
डीन शर्माले सङ्क्रमणको जोखिम कायमै रहेकाले विद्यार्थीलाई लगातार चार घण्टा परीक्षा हलमा राख्दा सङ्क्रमण उच्च हुने हुँदा यसलाई दुई घण्टामा सीमित गरिएको जानकारी दिए। विद्यार्थीलाई पानी पिउने, शौचालय, परीक्षाको व्यवस्थापनमा खटिनुपर्ने जनशक्ति लगायत सबै पक्षको विचार गर्दा परीक्षा दुई घण्टामा नै सीमित राख्नु उपयुक्त ठानिएको उनको भनाइ छ।

राजधानीको पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले अन्तर्राष्ट्रिय मान्यता अनुसार स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने गरिएको उल्लेख गर्दै विशेष अवस्थाका लागि मात्र समय कम हुनुपर्ने बताए।

स्नातकको डेढ घण्टा
यसका साथै अब स्नातक तहको परीक्षा डेढ घण्टा मात्रै सञ्चालन गरिने भएको छ। विगतमा तीन घण्टामा स्नातक तहको परीक्षा सञ्चालन लिने गरिएकोमा अब कोरोना सङ्क्रमण अवधिभर परीक्षाको आधा समय घटाइएको हो। विद्यार्थीलाई कक्षा १२ को वार्षिक परीक्षामा पनि समय घटाइएका कारण विश्वविद्यालयले यो निर्णय गरेको जनाइएको छ।

अभ्यास सफल
यसपटक राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का लागि डेढ घण्टा समय तोकेको थियो। परीक्षा मङ्सिर १६ गते मात्र सकिएको हो। यसअघि सय पूर्णाङ्कको लिखित परीक्षा हुने गरेकोमा यस पटक ४० पूर्णाङ्कको मात्र लिखित परीक्षा लिएकाले समय घटाएर डेढ घण्टा बनाएको जनाइएको छ। गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले खबर लेखेका छन्।
 

कमेन्ट लोड गर्नुस