सुदूर नेपाललाई विश्वसँग जोड्दै

औद्योगिक क्षेत्रको अनुगमन

२०७७ कार्तिक १५, ०५:३० रासस

भक्तपुर : भक्तपुरको औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुबाट निस्कने ध्वनि एवं धुँवाबाट हुने प्रदूषणले स्थानीयवासीको जनस्वास्थ्यमा परेको असरबारे जानकारी लिन भक्तपुर नगरपालिकाले हिजो उद्योगहरुको अनुगमन गरेको छ ।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, उपप्रमुख रजनी जोशी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालयका प्रतिनिधि, औद्योगिक क्षेत्रका सहायक प्रहरी निरीक्षकसहितको टोलीले आज भक्तपुर नगरपालिका–२ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र रहेको नेपो इण्डष्ट्रिज प्रालिअन्तर्गत सञ्चालनमा रहेको विभिन्न उद्योगबाट निस्किएको ध्वनी र धुँवाको प्रदूषणबारे अनुगमन गरेको हो । 

भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुले फालेको ध्वनी र धुँवा प्रदूषणले स्थानीय जनस्वास्थ्यमा प्रतिकूल असर पु¥याइरहेकोबारे व्यापक जनगुनासो आएपछि समस्याको दीर्घकालीन समाधानको लागि अनुगमन गरिएको भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले जानकारी दिए ।

अनुगमनका क्रममा कपडा बुन्ने अधिकांश मेसिनहरु बन्द अवस्थामा रहेको थियो भने उद्योगको संरचना अस्तव्यस्त रहेको, ध्वनी र धुँवा प्रदूषण नियन्त्रण गर्ने कुनै पनि प्रविधि जडान नगरिएको पाइएको छ । त्यस क्रममा स्थानीयवासीले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड मुख्य कार्यालय काठमाडौंबाट आएका प्रतिनिधि टोलीलाई भक्तपुर औद्योगिक क्षेत्रबाट भएको ध्वनि र धुँवा फाल्ने नेपो इण्डष्ट्रिज उद्योगबारे निवेदन दिएको थियो । 

नेपो इन्डस्ट्रिजको टेक्सटाइलको ४२ थान मेशिन गैरकानूनी ढङ्गले सञ्चालन गरिरहेको हुँदा नेपाल सरकारको सम्बन्धित निकायबाट प्रमाणित नभएसम्म नेपो इन्डष्ट्रिज बन्द गर्न माग गरेका छन् ।

कमेन्ट लोड गर्नुस