कञ्चनपुरमा दाताले दिएको राहतमा बदमासी, स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी
कृष्णपुर : कञ्चनपुरमा दाताले दिएको राहतमा जनप्रतिनिधिले बदमासी गरेको आरोप लागेको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ९ ले निड्स नेपाल कञ्चनपुरले विपन्न वर्गका लागि दिएको राहतमा जनप्रतिनिधिले बदमासी गरेको आरोप लागेको हो ।
स्थानीय दुर्गेश सावदले विपन्न वर्गका लागि भनेर दिएको राहत वडा कार्यालयले जनप्रतिनिधि निकटका सम्पन्न व्यक्तिहरुलाई वितरण गरेको आरोप लगाए ।
उनले हुनेखाने परिवारलाई राहत दिएर जनप्रतिनिधिहरुले विपन्न समुदायमाथि अन्याय गरेको बताए । सावदका अनुसार राहतमा बदमासी गरेपछि कात्तिक ११ गते वडा कार्यालयमा तालाबन्दी गरिएको थियो । तर सो ताला जबरजस्ती तोडेपछि शुक्रबार पुनः तालाबन्दी गरिएको छ ।
अर्का स्थानीय लोकराज ओझाले निड्स कञ्चनपुरले विपन्नका लागि उपलब्ध गराएको राहतमा जनप्रतिनिधि लगायतकाले भागबण्डा गरेर अनियमितता गरेको आरोप लगाए । ओझाले उनीहरुले आ–आफ्नो मान्छेहरुलाई राखेर राहत सामाग्रीको दररेट बढि राख्दै अनियमितता गरेका कारण तालाबन्दी गरिएको बताए ।
तर वडा अध्यक्ष छत्र महराले भने राहत पाउने सबै लक्षित समुदाय नै भएको दावी गरे ।
‘१५ सय घरधुरी भएको वडामा सबैलाई वितरण गर्न त सम्भव हुँदैन् । २ सय २३ घरधुरीका लागि १३ हजार ५ सयका दरले बजेट आएको थियो ।’ वडाध्यक्ष महराले भने, ‘हामीले छनौट मात्र गरिदिएका हौँ । निड्स कञ्चनपुरले नै उहाँहरुलाई वितरण गरेको हो । स्थानीयको माग सबैले पाउनुपर्छ भन्ने हो त्यो कसरी सम्भव हुन्छ ।’
निड्स नेपाल कञ्चनपुरका प्रमुख भवराज रेग्मीले पनि वडा कार्यालयले छनौट गरे बमोजिम २ सय २३ विपन्न घरधुरीलाई १३ हजार ५ सयका दरले राहत रकम वितरण गरिएको बताए ।
लाभग्राही छनौटको काम वडा कार्यालयले नै गरेको बताउँदै रेग्मीले सम्बन्धित व्यक्तिले विवरण लुकाउँदा तलमाथि परेको हुनसक्ने दावी गरे ।