आज दशैँको नवौँ दिन, महानवमी पर्व मनाईदै
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/mahadurga_0.jpg?itok=yWqTmO6T)
धनगढीः आज बडादशैँको नवौँ दिन । महानवमी पर्व आज हर्षेल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ ।
आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।
दशैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरुले भने आज कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।
अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।
महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । तर यसवर्ष भने कोरोना महामारीका कारण मौलिक परम्पराअनुसार महानवमी पर्व समेत नमनाइने भएको छ ।
संक्रमणको जोखिम कायमै रहेकाले स्थानीय प्रशासनहरुले मठमन्दिरमा मेलाजात्रा गर्न तथा पशुबली दिन रोक लगाएका छन् ।
तर सुदूर पहाडका केही स्थानमा भने स्थानीय प्रशासनको आदेशको वेवास्ता गर्दै बली चढाईएको छ ।
![add](https://dineshkhabar.com/sites/default/files/1736663280234.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)