लेबनानका पूर्व प्रधानमन्त्री हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित
लेबनानका पूर्व प्रधानमन्त्री साद हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका छन । उनी यसअघि दुई पटक प्रधानमन्त्री भएका थिए । निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरको अन्त्य तिर राजीनामा दिएकाले हरीरीले फेरी प्रधानमन्त्री बन्ने मौका पाएका हुन् ।
लेबनानको राष्ट्रपतिको कार्यालयले हरीरीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र उनलाई मन्त्रीपरिषद् गठन गर्न आह्वान गरिएको जनाएको छ । संसदमा उनलाई प्रधानमन्त्री निर्वाचित गराउने बेलामा भएको मतदानमा ६५ जनाले हरीरीको पक्षमा मतदान गरेका थिए । त्यसैगरी ५३ जनाले मतदानमा भाग लिएका थिएनन भने दुई जना अनुपस्थित रहेका थिए ।
यसअघि सन २०१६ देखि हरीरीकै नेतृत्वमा सरकार बनेको थियो । त्यसपछि उनले गत सन २०१९ को अक्टोबर १८ मा राजीनामा दिनुभएको थियो । उनी नेतृत्वको सरकारका विरुद्धमा व्यापक आन्दोलन भएपछि उनले राजीनामा दिएका ह्न । उनलाई आर्थिक संकटमा मुलुकलाई धकेलेको आरोप लगाइएको थियो ।
त्यसपछि गत जनवरी २०२० मा हसन डियबको नेतृत्वमा नयाँ सरकार बनेको थियो । तर उनी धेरै समय टिक्न सकेनन । गत अगस्टमा राजधानी बेरुतमा ठूलो बम विस्फोटनको घटना भएर दुई सयभन्दा बढीको मृत्यु र हजारौँ घाइते भएपछि उनी राजीनामा दिन बाध्य हुनुभएको हो ।
नवनिर्वाचित प्रधानमन्त्री हरीरी सन २००९ देखि २०११ सम्म पहिलो पटक प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्नुभएको थियो । उनी देशका पूर्व प्रधानमन्त्री राफिक हरीरीको माइलो छोरा हुन । पूर्व प्रधानमन्त्री राफिकको सन २००५ मा हत्या भएको थियो । त्यसपछि नै उनका छोरा साद राजनीतिको केन्द्रीय भागमा आएका हुन् । उनी फ्युचर मुभमेन्ट पार्टीका नेता हुन् ।