वेपत्ता युवकको शव फेला
सिमकोट: जडिबुटी संकलन गर्न जाँदा एक हप्तादेखि वेपत्ता युवकको शव आज देखिएको छ ।
हप्ता दिनदेखि वेपत्ता खार्पुनाथ गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय धनबहादुर बुढाको शव सिमकोट गाउँपालिका वडा नम्बर १ चुवाखोला वनको कालापानी भन्ने ठाउँको दोजाम कर्णाली नदीको भेलमा अड्किएर बसेको अवस्थामा छ । दोजाम कर्णाली नदीमा बुढाको शव भेटिए पनि अप्ठ्यारा ठाउँमा अड्किएका हुनाले निकाल्न नसकिएको उनका आफन्त गोरा बुढाले जानकारी दिए ।
वेपत्ता भएको भनिएका बुढाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सीताराम विष्टसहित सात प्रहरी जवान र स्थानीयवासी २५ जनाको टोली खटिएको थियो । नदीको भेलमा अड्किएको शव आज निकाल्ने प्रयास गर्दागर्दै साँझ परेकाले शुक्रबार प्रयास गरिने भएको हो । नदीमा लगाइएको काठको पुलमा तर्न खोज्दा पल्टिएर बुढा नदीमा खसेको हुन सक्ने जनाइएको छ ।