मिथिलामा आज ‘बेलनौत’ विधि सम्पन्न गरिँदै
महोत्तरी: बडादशैँ पर्वको छैटौँ दिन आज बिहीबार महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘बेलनौत’ विधि सम्पन्न गरिँदै छ ।
पर्वका अवसरमा देवी दुर्गाका प्रतिमा बनाइएका देवी दुर्गाको आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि गरिने मैथिल परम्परा रहँदै आएको छ । ‘बेलनौत’ को अर्थ ‘बेललाई निम्ता दिनु’ भन्ने हुन्छ । मिथिला क्षेत्रमा बडादशैँ पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा सप्तमीका दिन खोल्न (उघार्न) बेल (फल) को भेट्नो प्रयोग गरिने परम्परा छ ।
यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भन्ने गरिन्छ । आज षष्ठीका दिन मिथिलाका प्रत्येक गाउँ÷नगर बस्तीमा यो विधि सम्पन्न गर्ने तयारी छ । दशहरा (दशैँ) पर्वको छैटौँ दिन यो विधि उत्सवमय वातावरणमा मनाउने मिथिलाको परम्परा छ । यद्यपि यसपालि कोभिड–१९ सङ्क्रमण जोखिमले बाजागाजा र भीडभाड केही नगरी केही प्रतिनिधिले बेलको रुखमा पुगेर यो विधि सम्पन्न गर्नेछन् ।
सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले भीडभाड नगर्न, नियमित पूजा आराधनाबाहेक देवी शक्तिपीठ र मन्दिरमा मेला उत्सव लगाउन नपाउने गरी नवरात्रभरिका लागि घटस्थापनाकै दिन निषेधाज्ञा जारी गरिसकेको छ । षष्टीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने मिथिला परम्पराअनुसार ‘बेलनौत’ आज सम्पन्न गरिन लागिएको हो।
षष्टीका दिन निम्ता गरिएको बेल टिपेर ल्याई निर्मित देवी प्रतिमाको आँखा बेलको भेट्नुले खोस्रेर उघारिएपछि सर्वसाधारणको दर्शनका लागि खुला गरिने परम्परा रहेको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिवास–२ का दिनेशकुमार झाले बताए । पर्व विशेषमा माटो मुछेर बनाइएका प्रतिमाबाहेक अघिदेखि नै काठ वा धातुका देवी प्रतिमाका लागि आँखा उघार्न आवश्यक नभएकाले त्यस्ता प्रतिमास्थलमा बेलनौत विधि आवश्यक नरहेको मिथिला संस्कृति परम्पराका ज्ञाता बताउँछन् ।
यद्यपि देवी पूजनमा प्रयोग हुने बेलपत्रका लागि देवी मन्दिर व्यवस्थापनले पनि यो विधि आयोजन गर्दै आएका छन् । पर्व विशेषमा बनाइएका देवी प्रतिमा विजयादशमीका दिन धार्मिक महत्वका नदी वा तलाउमा विसर्जन गरिने मैथिल परम्परा छ ।