सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका वडा सदस्य जोशीले नगरपालिकाका कर्मचारीलाई जबरजस्ती आफ्नो बारी खनाए

वडा सदस्य जोशीको बारी खन्दै कर्मचारी  फोटो : नारायण अवस्थी/दिनेश खबर
वडा सदस्य जोशीको बारी खन्दै कर्मचारी फोटो : नारायण अवस्थी/दिनेश खबर
२०७७ कार्तिक ५, ०३:३५ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका वडा नं. ५ का वडा सदस्य भूमीराज जोशीले नगरपालिकाका कर्मचारीहरुलाई जबरजस्ती आफ्नो व्यक्तिगत काममा लगाएको पाइएको छ ।

नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई वडा सदस्य जोशीले २ दिनदेखि आफ्नो बारी खन्ने काममा लगाएको पाइएको हो । 

ज्यालादारी रुपमा नगरपालिकामा कार्यरत एक जना कर्मचारीका अनुसार वडा सदस्य जोशीले पहिलो दिन (मंगलबार) स्थायी कर्मचारीहरुलाई बारी खन्ने काममा लगाउने प्रयत्न गरेका थिए । तर उनीहरु इन्कार गरेपछि आज (बुधबार) ज्यालादारीमा कार्यरत कर्मचारीलाई काममा लगाएका हुन् ।

वडा सदस्य जोशीले ज्यालादारीमा कार्यरत रामकुमार चौधरी, कालुराम चौधरी, गणेश चौधरी र रमेश तिरुवालाई बारी खन्ने काममा लगाएका हुन् । वडा सदस्य जोशीले प्रत्येक वर्ष नगरपालिकाका कर्मचारीहरुलाई बारी खन्ने काम गराउँदै आएका छन् ।

वडा सदस्य जोशीले काममा लगाएको स्वीकार गर्दै दिनेश खबर संग भने, ‘उहाँहरु (कर्मचारी) नाली सफाईको काममा आउनुभएको थियो । मैले उहाँहरुलाई एकै छिन बारी खनिदेउ भनेर खन्न लगाए ।’

जबरजस्ती आफ्नो व्यक्तिगत काम गराउन पाइन्छ र ? भन्ने सवालमा उनले भने, ‘पाइन्न हजुर, पाइन्न, माफी पाऊँ ।’

 

कमेन्ट लोड गर्नुस