लोक सेवा आयोगको सबै परीक्षा स्थगित
धनगढी: लोक सेवा आयोगले १६ कात्तिकदेखि निर्धारण गरिएका सबै परीक्षा स्थगित गरेको छ। आयोगले सोमबार सूचना जारी गर्दै कर्मचारीहरू आइसोलेसनमा रहेका कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन एवं परीक्षा सञ्चालन गर्न नसकिने बताएको छ।
आयोगले जारी गरेको सूचनामा भनिएको, ‘तत्काल परीक्षा सञ्चालन गर्न कठिनाइ भएकोले आयोगको पूर्वनिर्णय बमोजिम तोकिएका निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका सम्पूर्ण लिखित परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्म हाललाई स्थगित गरिएको छ।’