सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको पहाडी जिल्लामा खाद्य संकटको चिन्ता, संकट नहुने प्रशासनको दाबी

२०७७ कार्तिक २, १२:२४ खबर संवाददाता

धनगढी: सुदूर पहाडको बाजुरालगायत जिल्लाहरुमा चाडपर्वमा खाद्य संकट नहुने जनाइएको छ।

खाद्य संकट हुने जिल्लाहरुमा आवश्यक खाद्यान्नको मौज्दात भैसकेकोले खाद्य संकट नहुने जनाइएको हो। बझाङ, अछाम तथा दार्चुलाका स्थानीय प्रशासनले दुर्गम क्षेत्रमा खाद्यान्न अभाव नहुने दावी गरेका छन्। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जिल्लाको अपी र ब्याँस गाउँपालिकामा हेलिकप्टरबाट खाद्यन्न ढुवानी भैरहेकोले खाद्य संकट नहुने दाबी गरे।

त्यस्तै, उनले चाडपर्वमा हुुन सक्ने मूल्य बुद्धिलाई मध्यनजर गर्दै मुल्य नियन्त्रण गर्न बजार अनुगमन समेत थालिएको बताए। तर वर्षातका बेला आएको पहिरोका कारण पहाडी जिल्लाका विभिन्न सडक अवरुद्ध भएको थियो। जसका कारण खाद्यान्न ढुवानीमा समस्या भएको बताइएको छ।

बाजुराको सदरमुकाम जोड्ने सडक अवरुद्ध हुँदा खाद्यान्न लगायतका सामाग्री ढुवानीमा भने समस्या भइरहेको छ। जसको फाइदा उठाउँदै जथाभावी मूल्य बृद्धि भैरहेको स्थानीयले बताएका छन्। बाजुराका स्थानीय योगेन्द्र थापाले ढुवानीमा समस्या भएपछि दुर्गम क्षेत्रमा पुगाउन झनै समस्या हुँदा दशैँ तिहारका बेला खाद्यान्न लगायतका सामानको अभाव भई खाद्य संकट हुने चिन्ता गरे।

स्थानीय थापाले भने, ‘यो वर्ष सडक अबरुद्ध भएपनि बाजुराको तल्लो क्षेत्रमा खाद्यान्न आपूर्तिमा समस्या नभएपनि जिल्लाकोे उत्तर पूर्वी भेगमा सडक नपुगेको कारण समस्या देखिन्छ। जुनकारण दशैं तिहारमै भोकमरी हुने चिन्ताले पिरोलेको छ।’ उसो त सुदूरपश्चिमको बाजुरा जिल्ला खाद्य संकटका हिसावले पहिलो नम्बरमा पर्छ।

गत साउन २५ गते अविरल वर्षासँगै आएको बाढीले बाजुरा सदरमुकाम जोड्ने बुढीगंगा नदीको बेलीब्रिज बगाएपछि खाद्यान्न लगायतका सामान ढुवानीमा कठिनाइ भएको थियो। तर बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जिल्लामा खाद्य आपूर्तिमा समस्या नभएकोले जिल्लाको उत्तर पूर्वी भेगमा पनि ढुवानीको व्यवस्था मिलाइएको बताए।

प्रजिअ गैरेले ढुवानीको कारण देखाउँदै जथाभावी मूल्य बृद्धि गर्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने कार्य नियन्त्रण गरिने उल्लेख गरे। बझाङ्गमा समेत खाद्यान्नको मौज्दात पर्याप्त भएकाले दशैँ तिहारमा अभाव नहुने दावी गरिएको छ। जिल्लाको अधिकांश भुभाग सडक सञ्जालसँग जोडिएको हुँदा जिल्लाको सैपाल र तलकोट गाउँपालिका बाहेकमा खाद्यान्न लगायत उपभोग्य वस्तुको ढुवानीमा समस्या नरहेको बताइएको हो। तर दशैँ तिहारका बेला हुनसक्ने मूल्य बृद्धिलाई ध्यानमा राखेर बजार अनुगमनलाई प्रभावकारी बनाइने बझाङ्गका प्रमुख जिल्ःला अधिकारी कमलराज भण्डारीले बताए।

अछाममा भने संकट हुन नदिन खाद्य आपूर्ति कम्पनी लिमिटेडले मंगलसेनमा सुपथ मूल्य पसल संचालन गरेको छ। जिल्लाको अन्य ठाँउमा पनि खाद्यान्नको आपूर्ति सहज रहेको स्थानीय प्रशसानले जनाएको छ। यसैगरी डोटी, बैतडी र डडेल्धुरा जिल्लामा पनि खाद्य वस्तुको सहज आपूर्ति भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

 
 

 

कमेन्ट लोड गर्नुस