सुदूर नेपाललाई विश्वसँग जोड्दै

मदन भण्डारी मार्ग स्तरोन्नति गरिने

२०७७ कार्तिक १, ०८:३३ रासस

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दूरी छोट्याई मदन भण्डारी मार्गको स्तरीकरण गरिने बताउनुभएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियालगायतको टोलीसहित मदन भण्डारी मार्गमा प्रदेश सरकारले निर्माण गर्न लागेको सुरुङ निर्माणस्थलमा पुग्नुभएका मुख्यमन्त्री पौडेलले ढुवानीका साधन हेटौंँडा हुँदै काठमाडौँ पु¥याउन २२८ किलोमिटर बाटो हिँड्नुपर्ने भएकाले दूरी छोट्याई मदन भण्डारी मार्गको स्तरीकरण गर्न लागिएको बताउनुभयो।

स्तरीकरणपछि जम्मा ५५ किमी हुने सडकलार्ई फराकिलो पारिने, मोड घटाउने र अनावश्यक घुम्ती र भीरलाई छोट्याउन सुरुङ निर्माण गरिने उहाँले स्पष्ट गर्नुभयो। अवलोकनका क्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले आवश्यकताका आधारमा आधुनिक प्रविधिको प्रयोग गरेर पुराना सडक सम्पदाको संरक्षण र स्तरीकरण गरी सहज उपयोग गर्न लागेको जनाउँदै  यसमा सङ्घीय सरकारको सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो।

सो अवसरमा  योजना आयोगका उपाध्यक्ष डा कँडेलले प्रदेश सरकारले सङ्घीय राजधानी र प्रदेश राजधानीबीच सहज आवागमनका लागि स्तरीकरण गर्नेक्रममा निर्माण गर्न लागेको सुरुङ तथा अन्य सडकखण्डमा सङ्घीय सरकारले कसरी सहयोग गर्न सक्छ भन्नेबारेमा निर्माणस्थलमै पुगेर अवलोकन गर्न यहाँ आएको बताउनुभयो। प्रधानमन्त्रीका विकासविज्ञ थपलियाले हेटौंँडा– काठमाडौँको सबैभन्दा प्राचीन र छोटो मार्ग भइकन पनि स्थायित्व लिन नसकेको मदन भण्डारी मार्गलाई स्थायी र सुरक्षित बनाउन प्रदेश सरकारले थालेको प्रयासलाई केन्द्र सरकारले सहयोग गर्ने वचन दिनुभयो। 
 

कमेन्ट लोड गर्नुस