काठमाडौँ उपत्यकामा एक हजार ७४६ संक्रमित थपिए

काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ७४६ सहित देशभर तीन हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
काठमाडौँमा एक हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा १५ हजार ४३८ नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो। नेपालमा कूल सङ्क्रमितको सङ्ख्या एक लाख २९ हजार ३०४ पुगेको छ। हालसम्म १२ लाख ६९ हजार ६०५ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ।
मन्त्रालयका अनुसार २५ हजार ३४८ सङ्क्रमित होम आइसोलेसन र १३ हजार २९९ सङ्क्रमित संस्थागत आइसोलेसनमा छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७३७ पुगेको छ। सङ्क्रमितमध्ये २९० जनाको आइसियू र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा एक हजार ८०० जना कोरोना मुक्त भएका छन्। यससँगै नेपालमा कोरोना मुक्त हुनेको सङ्ख्या ८९ हजार ८४० पुगेको छ। जुन कूल सङ्क्रमितको ६९.४ प्रतिशत हो। मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, कास्की, रुपन्देही, बाँके, भक्तपुर, ललितपुर र काठमाडौँमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा सक्रिय सङ्क्रमित छैनन्।
कोरोनाबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ७२७ पुगेको छ।
