चाडपर्व लक्षित अनुगमनमा तीव्रता, २४ उद्योगविरुद्ध मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तीव्रता दिएको छ। चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिएको हो। विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकूल देखिएका उत्पादक कम्पनी तथा उद्योगविरुद्ध मुद्दा चलाइएको जानकारी दिए।
तत्कालै गुनासो सुन्न तयार पारिएको समूह ‘¥यापिड रेस्पोन्स टिम’ मा विभिन्न २४ उजुरी परेकामा एक पानी उद्योग अनुमतिबिना सञ्चालन भएको पाइएकाले बन्द गराइएको छ। खाद्य ऐनविपरीत रहेका दुई उद्योगलाई उत्पादन रोक्का गरिएको विभागले बताएको छ। अन्य २१ उद्योगविरुद्ध भने मुद्दा चलाइएको दाहालले जानकारी दिए।
उनका अनुसार विभाग र मातहतका कार्यालयबाट कुल ३९८ स्थानका होटल, खाद्य उद्योग, दाना उद्योग खाद्य पसलमा अनुगमन भएको थियो। त्यसमध्ये खाद्य पदार्थ तथा दाना उद्योगको २७८ र खाद्य स्वच्छतासम्बन्धी १५५ गरी ४३३ वटा नमुना संकलन भएको थियो। परीक्षणका क्रममा १४ वटा नमुना प्रतिकूल देखिएकाले कारबाही गरिएको छ।
अन्य अनुसन्धानकै क्रममा रहेको बताइएको छ। विभागअन्तर्गत मुलुकमा २४ वटा डिभिजन कार्यालय र १२ स्थानमा खाद्य आयातरनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रहेका छन्। यसअघि कार्यालयले भदौ २८ देखि नै तीन वटा अनुगमन टोली परिचालन गर्दै आएको छ। कोभिड–१९ का कारण पिउने पानी, दूध तथा दानाको अनुगमन गरिएको थियो।
अहिले भने चाडवाड केन्द्रित अनुगमन टोली तयार गरी परिचालन गरिएको विभागले बताएको छ। मातहतका कार्यालयलाई समेत अनुगमनलाई तीव्रता दिन निर्देशन दिइएको छ। यसअघि पानी उद्योगमा ५४ पटक अनुगमन भएको र २५ वटा नमुना संकलन भएको थियो। दुई नमुना प्रतिकूल देखिएकाले कारबाही प्रक्रिया अघि बढेको बताइएको छ।
अन्य नमुना विश्लेषणको क्रममा छ। सात दुग्ध उद्योगमा अनुगमन भएकामा ६ वटाको नमुना संकलन भएको छ। खाद्य व्यवसायको ३१ वटा ठाउँमा अनुगमन भएकामा ३४ नमुना संकलन गरिएको र एउटा प्रतिकूल देखिएकाले कारबाही प्रक्रिया सुरु गरिएको विभागले बताएको छ।
गुनासो सम्बोधन गरिने
विभागले चाडवाडको बिदा समयमा पनि गुनासो सुन्ने भएको छ। यस्तै, प्रयोगशाला परीक्षणसमेत सञ्चालन गरिने विभागले सूचनामार्फत जानकारी दिएको छ। त्यसका लागि सम्पर्क व्यक्तिसमेत तोकिएको छ।
खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मका विभिन्न नियम निर्देशिका कार्यान्वयनमा तीव्रता दिइएको सहप्रवक्ता दाहालले बताए।

