वैज्ञानिक वन व्यवस्थापन खारेज गरी समूहको अधिकार सुनिश्चित गर्नुपर्छ : महासङ्घ

सामुदायिक वन उपभोक्ता महासङ्घले वैज्ञानिक वन व्यवस्थापनका कारण सामुदायिक वन उपभोक्ता समूहहरु सामुदायिक वनमा रहेको काठको बिक्रीवितरणलगायत अधिकारबाट वञ्चित भएकोे जनाएको छ।
महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै सामुदायिक वनका काठदाउरा सङ्कलन, ओसारपसार र बिक्रीवितरण गर्ने अधिकार सामुदायिक वनलाई नै दिनुपर्ने माग गरेको छ।
“काठ सङ्कलन र बिक्रीवितरणलगायतका विषयमा पटकपटक हामीले सरकारसँग अपिल गरे पनि हालसम्म त्यसको सुनुवाइ हुन सकेको छैन”, विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमार्फत उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गरी सामुदायिक वनले उपभोग गर्दै आएको अधिकार सुनिश्चित गर्नसमेत अपिल गरिएको छ।
उपभोक्ताको अधिकारलाई वञ्चित गर्ने गरी उक्त निर्णय तत्काल नसच्याएमा महासङ्घ चरणबद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिइएको छ।
