सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्राजिलमा कोरोना संक्रमणबाट १ लाख ५० हजारको मृत्यु

२०७७ असोज २५, ०४:२५ रासस

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा स्थानीय समय अनुसार शनिबार रातिसम्ममा मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ। 

कोरोना संक्रमणको दरमा केही दिनदेखि कमी आए पनि कूल मृत्यु भएका व्यक्तिको संख्याका आधारमा ब्राजिल संयुक्तराज्य अमेरिकापछि विश्वमै दोस्रो स्थानमा रहेको छ। ब्राजिलका राष्ट्रपति जेयर बोल्सेनारोले कोरोनाभाइरसले गर्न सक्ने क्षतिलाई बेवास्ता गर्नु भएको आरोप लागिरहेका बेला कोरोना संक्रमितको मृत्यु उच्च गतिमा बढेको थियो।

राष्ट्रपति बोल्सेनारोले सामाजिक दूरीका नियमहरुलाई बेवास्ता गर्दै ठुल्ठूला सभाहरु गरेका थिए। उनले गभर्नर र मेयरहरुले लकडाउन गर्न र कडा नियमहरु अगाडि सारेपनि त्यसलाई अस्वीकार गरेका थिए। यहीबीच गत जुलाईमा उनलाई कोरोना संक्रमण भएको थियो। तर पछिल्ला केही दिनदेखि ब्राजिलमा कोरोना संक्रमण दरमा कमी आउन थालेको छ।

विगत एक डेढ महिनाको अवधिमा भाइरसको वृद्धिदरमा कमी देखिएको छ। विगत सात दिनमा दैनिक ५९८ जनाको मृत्यु भइरहे पनि यो गत मे महिनाको तुलनामा निकै कम हो।
 

कमेन्ट लोड गर्नुस