सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सडक सेवा शुल्कको विरोध गर्दै राजमार्ग अवरुद्ध

२०७७ असोज ११, ०७:३३ रासस

कञ्चनपुर: सडक सेवा शुल्कको विरोधमा कृष्णपुर नगरपालिकाका सवारीधनीहरुले आज पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरी आन्दोलनमा उत्रिएका छन्।

सडकमा सवारी साधन गुडाएवापत नगरपालिकाले कर लिन थालेपछि त्यसबिरुद्ध नेपाली काँग्रेसको अगुवाइमा सवारी धनीहरु आन्दोलनमा उत्रिएका हुन्। सडक अबरुद्ध हुँदा मध्याह्देखि सडकमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। 

नगरपालिकाले सडक सेवा शुल्क कर उठाउनका लागि १० लाखमा ठेक्का सम्झौता गरेको छ । नगरपालिकाले दोहरो कर लिन थालेपछि आन्दोलनमा उत्रिनु परेको सवारीधनीहरुको भनाइ रहेको छ। ट्रक, ट्याक्टर, अटोरिक्सा, जीपलगायतका सवारी र ढुवानीका साधनबाट ठेकेदारले रकम असुल्न थालेपछि सवारीधनीहरु आन्दोलनमा उत्रिएका हुन्। ठेकेदारले नगरपालिकाभित्रका सडकमा गुड्ने सवारी र ढुवानीका साधनबाट ५० देखि  १०० सम्म असुल्न थालेपछि सवारीधनीहरुले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गर्नुपरेको बताएका छन्।

नगरपालिकाले सवारी साधनबाट शुल्क असुल्ने नीतिमा परिवर्तन नगरे आन्दोलन जारी रहने व्यवसायी हरिबहादुर गैरालले बताए। उनको संयोजकत्वमा सङ्घर्ष समितिसमेत गठन गरिएको जनाइएको छ। गत शुक्रबार समेत सवारीधनीहरुले सवारीका साधन लगेर नगरपालिका कार्यालय घेराउ गरी सडक करको विरोध गरेका थिए।

नगर प्रमुख कर्णबहादुर हमालले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी नगरपालिकाले सडक सेवा शुल्कका लागि ठेक्का सम्झौता गरेको बताए। उनले सडक अबरुद्ध गर्दा सर्वसाधारणले दुःख पाउने हुँदा वार्ताबाटै समस्या समाधान गर्न आह्वान गरे।

कमेन्ट लोड गर्नुस