सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरः पूर्व पश्चिम राजमार्गमा नाइटभिजन सिसिटिभी क्यामेरा जडान

२०७७ असोज ७, ०४:१४ रासस

कञ्चनपुर: आपराधिक क्रियाकलाप नियन्त्रण गर्न वेदकोट नगरपालिकाले पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा नाइटभिजन सिसिटिभी क्यामेरा जडान गरेको छ। 

नगरपालिकाको राजमार्ग क्षेत्रमा आपराधिक क्रियाकलाप हुन सक्ने सम्भावित क्षेत्रमा २५ वटा क्यामेरा जडान गरेको हो। दैजी र चम्फापुर क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको नगर प्रमुख अशोककुमार चन्दले बताए। उनले भने, “नगरका अन्य क्षेत्रमा समेत सिसिटिभी क्यामेरा जडान गर्ने योजना छ।” 

सिसिटिभी क्यामेरा र ११६ वटा सौर्य बत्ती जडान गर्नका लागि नगरपालिकाले अमृत बोहरा जेभीसँग एक करोड १३ लाखमा ठेक्का सम्झौता गरेको छ। सम्झौता अनुसार सिसिटिभी जडानको कार्य पूरा भएको छ भने सौर्य बत्ती जडान गर्ने काम अघि बढाइएको बताइएको छ। 

सौर्य बत्ती जडान कार्यक्रमअन्तर्गत पहिलो चरणमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने वेदकोट नगरपालिकाको भिमदत्त र शुक्लाफाँटा नगरपालिकासँग जोडिएका चम्फापुर पुलदेखि सामादैजी, दैजी, सुडा, लालपुर, सिसैया लगायतका मुख्य चोकमा सडकबत्ती जडान गर्न लागिएको नगर प्रमुख चन्दले जानकारी दिए।

“नगरको व्यस्त र भीडभाड हुने स्थानमा क्यामेरा जडान गरिएको छ”,उनले भने, “नगरपालिकामा स्वदेशीलगायत विदेशी पर्यटकको आवागमन बढेसँगै आपराधिक क्रियाकलापमाथि नियन्त्रण गर्न र दुर्घटनाका घटना रोकथाममा सघाउ पु¥याउन क्यामेरा तथा सौर्य बत्ती जडानको कार्य अगाडि बढाइएको छ।” 

सिसिटिभी क्यामेराबाट निगरानी राख्नका लागि वेदकोट नगरपालिका र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको समन्वयमा नगरपालिकाको कार्यालयमा कन्ट्रोल रुम राखिएको छ। नगर क्षेत्रका मुख्य मुख्य बजारमा सौर्य बत्ती जडान भएपछि रातिको समयमा उज्यालो हुने भएकाले चोरी लगायतका अन्य आपराधिक क्रियाकलाप कमी आउने विश्वास नगरपालिकाको छ।
 

कमेन्ट लोड गर्नुस