सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नो पक्षमा प्रदर्शन नगर्न घिसिङको आग्रह

२०७७ असोज ३, १२:४१ खबर संवाददाता

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैलाई आग्रह गरेका छन्।

कुलमानलाई प्राधिकरणमा पुनःनियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका बिभिन्न स्थानमा प्रदर्शन हुँदै आएका छन्। स्वतःस्फूर्त सडकमा उत्रिएका कुलमानका समर्थकहरुलाई प्रहरीले दमनसमेत गर्दै आएको छ। शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो पक्षमा हुँदै आएको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। 

नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको भन्दै घिसिङले प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई सबैले आत्मसाथ गर्नैपर्ने बताए। प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने उनको विश्वास छ।  

विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण नेपाल पनि आक्रान्त भएको बेला आफूलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखेर महामारीको संवेदनशील अवस्थामा सडकमा भीडभाड गरी प्रदर्शन नगरि दिनुहुन सबैलाई घिसिङले अनुरोध गरेका छन्।

 

कमेन्ट लोड गर्नुस