सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहराइनका राजकुमार नेपालमा

२०७७ भदौ ३१, ०३:४७ खबर संवाददाता

काठमाडौ: हिमाल आरोहणका लागि बहराइनइनका राजकुमार नासिर बिन हामिद अल खलीफा नेपाल आएका छन्। खुम्बु क्षेत्रको लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्ने उद्देश्यका साथ राजकुमार खलीफासहित १८ जनाको टोली बुधबार काठमाडौँ आइपुगेको हो। टोली शेख इशा एयरवेजबाट विशेष विमानमार्फत नेपाल आएको हो। उक्त विमान बुधबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । 

टोलीमा बहराइन रोयल गार्ड (डिभेन्स फोर्स) मा कार्यरत १५  बहराइनी र तीन  बेलायती  रहेको बताइएको छ। बहराइनस्थित नेपाली दूतावासका अनुसार बहराइन अधिराज्यबाट राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणको उद्देश्यसहित गए राति नेपाल प्रस्थान गरेको थियो।

उक्त टोलीलाई बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगका द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाललगायतले प्रस्थानपूर्व पर्वतारोहणमा सफलताको शुभकामना दिएका थिए। सो क्रममा राजदूत सुन्दासले नेपाल र बहराइनबीच रहँदै आएको मित्रवत् सम्बन्धमा आरोहणले थप आयाम प्रदान गर्ने विश्वास व्यक्त गरे। 

मन्त्रिपरिषद्को यही भदौ १४ गतेको बैठकले बहराइनी राजकुमारसहितको टोलीलाई नेपालको हिमाल आरोहणका लागि अनुमति दिएको थियो। करिब दुई महिना समयावधिको कार्यक्रमसहित नेपाल आएको  टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीका रुपमा लिँदै सन् २०२१ मा सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको दूतावासले जनाएको छ।
    
क्वारेन्टाइनपछि आरोहण अनुमति
हिमाल आरोहणका लागि आएको सो टोलीले पर्यटन विभागबाट आरोहण अनुमति लिनुपर्ने हुन्छ। विभागका निर्देशक मीरा आचार्यका अनुसार आरोहणका लागि नेपाल आएको राजकुमारसहितको टोलीले हवाई उड्डयन मापदण्डअनुरुप क्वारेन्टाइनमा बस्ने र पिसिआर परीक्षण नेगेटिभ आएपछि मात्रै विभागबाट आरोहण अनुमति पाउनेछ।
     
सरकारले शरद् ऋतुको हिमाल आरोहण खुला गरेको छ। अहिले एक नेपाली आरोही टोलीले खुम्बु क्षेत्रमा पर्ने सात हजार १२९ मिटर उचाइको बरुन्से हिमाल आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ।

विभागका निर्देशक आचार्यले अहिलेसम्म एक मात्र टोलीले हिमाल आरोहण अनुमति लिएको छ । बहराइनका राजकुमारसहितको आरोहण टोलीले अनुमति लिँदा दोस्रो टोली हुनेछ।

कमेन्ट लोड गर्नुस