‘कैलाली भन्सारको अधिकार क्षेत्र कञ्चनपुरको बेलौरी सम्म हो’
धनगढी : अहिले त्रिनगर–गौरीफन्टा नाकाबारे विवाद बढेको छ। गौरीफन्टा नाका र डोकेबजार क्षेत्रबाट कैलालीको सुरक्षा टोली फिर्ता भएपछि भन्सार कार्यालय पनि कञ्चनपुरको मातहतमा जाने त होईन भन्ने आशंका पनि गरिएको छ।
तर भन्सार कार्यालय कैलालीले भने नाकामा सुरक्षा टोली जुन जिल्लाको खटिएपनि भन्सार भने कैलाली मातहतमा रहेको जनाएको छ। भन्सार कार्यालय कैलालीका प्रमुख इश्वरी अर्यालले जिल्लागत सीमाना र भन्सारको अधिकार क्षेत्र फरक–फरक हुने बताए।
‘त्रिनगरमा रहेको कैलाली भन्सारको क्षेत्र कञ्चनपुरको बेलौरीदेखि कैलालीको पृथ्वीपुर सम्म हो,’ उनले भने, ‘बेलौरीमा रहेको छोटी भन्सार कार्यालय कैलाली भन्सारकै मातहतमा रहेको छ। सीमा क्षेत्र कञ्चनपुरको भएपनि भन्सारको क्षेत्र जिल्लागत सीमा अनुसार हुँदैन्।’
बेलौरीको छोटी भन्सार कार्यालय अहिले कोरोना भाईरसको जोखिमका कारण बन्द गरिएको प्रमुख अर्यालले बताए। गौरीफन्टा नाकाबाट सिधै कञ्चनपुरमा जानेहरुका लागि त्यहाँ छोटी भन्सार कार्यालय स्थापना भए पनि उक्त कार्यालय पनि कैलाली मातहतमै रहने स्थानीय प्रशासनले पनि जनाएको छ।
त्रिनगर–गौरीफन्टा नाकामा कैलालीको सुरक्षा टोली फिर्ता भएर कञ्चनपुरको सुरक्षा टोली तैनाथ भएसंगै भन्सार कार्यालय पनि कञ्चनपुर मातहत जाने आशंक ागर्न थालिएको थियो। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले पनि भन्सार कार्यालय पनि आफ्नो मातहतमा ल्याउन पहल थाल्ने बताएका थिए।