सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकाबाट कैलालीको सुरक्षा टोली फिर्ता

२०७७ भदौ ११, ११:१५ खबर संवाददाता

धनगढी : गौरीफन्टा नाकाबाट कैलालीको सुरक्षा टोली फिर्ता भएको छ। कञ्चनपुरको भूभागमा पर्ने भएपनि गौरीफन्टा नाका र डोकेबजार क्षेत्रमा हालसम्म कैलालीको सुरक्षा टोली ड्युटी गर्दै आएकोमा हिजोदेखि फिर्ता भएको हो।

कैलालीको टोली फिर्ता भएपछि कञ्चनपुरको सुरक्षा टोली खटिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए। उनले हिजोदेखि गौरीफन्टा नाका र डोकेबजार क्षेत्रमा कञ्चनपुरबाट सुरक्षा टोली खटाइएको जानकारी दिए। 

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिरकारी शिवराज जोशीले कञ्चनपुरको भूभागबाट कैलालीको सुरक्षा टोली फिर्ता भएको बताउँदै अब कैलालीको भूभागमा मात्रै खटिएको जानकारी दिए।

उनका अनुसार कैलालीको सुरक्षा टोली मोहनापुल वारी खटिएको छ। नाका स्थापना भएदेखि नै गौरीफन्टामा कैलालीको सुरक्षा टोली खटिएको थियो। 

डोकेबजार क्षेत्रमा भारतबाट आएका नागरिकलाई नराख्न र उक्त क्षेत्रमा खटिएको कैलालीको सुरक्षा टोलीलाई फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दवाव दिदै आएको थियो।

सीमामा दुई जिल्लाका सुरक्षाकर्मी  तैनाथ भएपछि भारतबाट फर्किनेलाई भने झञ्झट बढ्ने देखिएको छ। सुरुमा कञ्चनपुरको टोलीले चेकजाँच गर्नेछ भने त्यसपछि कैलालीको टोलीले जाँच गर्नेछ। 
 

कमेन्ट लोड गर्नुस