सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्वारेन्टिनमा करेन्ट मृत्यु प्रकरण : परिवारलाई दश लाख र श्रीमानलाई जागिर

२०७७ साउन २९, ०८:१८ रासस

कञ्चनपुर : क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी कृष्णपुर नगरपालिका ६ की २३ वर्षीया राधादेवी ओडका परिवारलाई नगरपालिकाले रु १० लाख सहयोग उपलव्ध गराउने भएको छ।  मृतक परिवारसँगको सहमतिअनुसार नगरपालिकाले ओडकी १२ महिनाकी छोरी अनुको खातामा सहयोग रकम जम्मा गर्ने भएको छ। नगरपालिकाले सहयोगसँंगै मृतक ओडका श्रीमानलाई योग्यताका आधारमा कार्यालयमा जागीर दिने सहमति गरेको छ।

यसैगरी ओड परिवारलाई थप राहतका लागि प्रदेश र सङ्घ सरकारसित पहल गर्ने तथा क्वारेन्टिन व्यवस्थापनको कमजोरी छानबिनका लागि समिति गठन गर्ने निर्णय गरिएको छ। नगरपालिकाका प्रमुख कर्णबहादुर हमालका स्वकीय सचिव गणेशसिंह ऐरीले ओडको मृत्यु भएपछि नगर प्रमुखले सार्वजनिक रुपमा गरेको प्रतिवद्धतानुसार सहयोग गरिएको बताए।

आज बिहान नगर प्रमुख हमाल र सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशीलगायतले मृतक ओडका घरमै पुगेर किरिया खर्चवापत रु २५ हजार परिवारका सदस्यलाई हस्तान्तरण गरेका छन्। मङ्गलबार कृष्णपुर– ६ स्थित महाकाली माविको क्वारेन्टिनमा करेन्ट लागेर ओडको मृत्यु भएको थियो। स्थानीय बासिन्दा क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका थिए। आन्दोलनकारीले नगरपालिकाको कार्यालयसमेत तोडफोड गरेका थिए।
 

कमेन्ट लोड गर्नुस