सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेक गणतन्त्रमा बोहुमिन शहरमा अपार्टमेन्टमा आगलागी, कम्तीमा ११ को मृत्यु

२०७७ साउन २६, ०७:५३ रासस

चेक गणतन्त्रको प्रहरीले बुहुमिन शहरमा स्थानीय समय अनुसार आइतबार अपार्टमेन्टको एउटा भवनमा आगलागी हुँदा तीन बच्चासहित ११ व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ। प्रहरीले घटनामा सम्लग्न रहेको आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरू गरिसकिएको बताएको छ।  

राजधानीबाट करिब ३०० किलोमिटर उत्तरपूर्वमा रहेको उक्त शहरको अपार्टमेण्टको एघारौँ तलामा जन्मोत्सव मनाइरहेको एक परिवारिक जमगठमा आगलागी हुँदा छ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अन्य पाँच जना आगलागीबाट बच्न अग्लो भवनबाट हाम फाल्दा ज्यान गुमाएका थिए।

क्षेत्रीय अभियोजनकर्ता मिखाइल क्रोलका अनुसार आरोप पुष्टि भएमा पक्राउ परेका आरोपितलाई आजिवन कैद सजाय हुने बताए। उहाँले आरोपितलाई हिरासतमा पठाउने वा के गर्ने भन्नेबारे थप अनुसन्धानपछि बताउन सकिने उल्लेख गरे।

प्रहरीले आगलागी भएको भवनको ११ औँ तलामा अतिप्रज्वलनशील पदार्थ भेटिएको भन्दै सुरू देखि नै घटना नियोजित भएको आशङ्का गरेको थियो। आगलागी नियन्त्रण गर्ने क्रममा दुई अग्नि नियन्त्रक, एक प्रहरी अधिकारी र उद्धारमा खटिएका अन्य १० व्यक्ति घाइते भएका थिए। 

चेक सञ्चारमाध्यमहरूले उक्त व्यक्तिले घरायसी झगडापछि उक्त तलामा आगो लगाएको हुनसक्ने भन्दै समाचारहरूमा उल्लेख गरेका छन्। मारिएका मानिसहरूमा केही सदस्य आरोपितका आफन्त रहेको पनि बुझिएको छ।
 

कमेन्ट लोड गर्नुस