सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाउन निर्देशन

२०७७ साउन २६, ०८:०८ खबर संवाददाता

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। 

कोरोनाको जोखिम बढ्दै गएको भन्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी सकेसम्म घरबाटै काम गर्ने र सम्भव नभए कमभन्दा कम कर्मचारी उपस्थित हुने गरी विभिन्न सिफ्टमा काम गर्ने वातावरण मिलाउन निर्देशन दिएको हो।

राष्ट्र बैंकले स्वास्थ्य सुरक्षा र मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ। राष्ट्र बैंकले यसअघि पनि सकेसम्म घरबाटै काम गर्नेगरी व्यवस्थापन मिलाउन निर्देशन दिएको थियो। 

तर अवस्था सामान्य बन्दै गएको भन्दै बैंक तथा वित्तीय संस्थाले सबै कर्मचारीलाई बोलाएर काममा लगाएका छन । यस्तै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवालाई नियमित कसरी राख्न सकिन्छ भन्ने बारेमा कार्ययोजना बनाउन पनि आग्रह गरेको छ। राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थालाई ध्यानाकर्षण गराएको छ।

कमेन्ट लोड गर्नुस