सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेपत्ता भएका नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

२०७७ साउन २५, ०७:१९ रासस

ओखलढुङ्गा: लिखु नदीले बगाएर बेपत्ता भएका ओखलढुङ्गाका एक युवक फेला नपरेपछि परिवारले अन्तिम दाहसंस्कार गरेको छ। चम्पादेवी गाउँपालिका–१० रानीवन निगालेका ३६ वर्षीय रोहितकुमार ढुङ्गेललाई गत बुधबार लिखुले बगाएको थियो। नदीले बगाएका ढुङ्गेलको उद्धार गर्न नसकिएको र शवसमेत नभेटिएपछि जीवित नरहेको ठहर गर्दै परिवारले कुशको शव बनाएर आज अन्तिम दाहसंस्कार गरेको हो। 

ढुङ्गेल गत बुधबार बुबा र ससुरासँग गोठ सार्न गएका थिए। गाईबाख्रा खोला तार्ने क्रममा ससुरालाई नदीले बगाउन खोजेपछि  बचाउने क्रममा उनलाई नदीले बगाएको थियो। प्रहरी र स्थानीयवासीले निरन्तर खोजी गर्दा पनि फेला पार्न नसकेपछि परिवारले शुक्रबार कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेको चम्पादेवी–१० का वडाध्यक्ष उज्जन बुढाथोकीले जानकारी दिए।

“उहाँलाई नदीले बगाएको सुन्नासाथ प्रहरी र स्थानीय हामी सबैबाट निरन्तर खोजियो, फेला पार्न सकिएन”, वडाध्यक्ष बुढाथोकीले भने, “कुशको शव बनाएर दाहसंस्कार गरी परिवारले आफ्नो संस्कारअनुसार काजकिरियाको काम थालेको छ।” नदीले बगाएर बेपत्ता भएका ढुङ्गेलका श्रीमती र दुई सन्तान छन्। 

प्रहरीले भने ढुङ्गेलको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले बताए। जिल्लाभित्रको लिखु  किनारमा जिल्लाकै प्रहरी जनशक्ति र अन्य जिल्लाका प्रहरीलाई समेत सूचना दिएर शव खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ । ओखलढुङ्गामा वर्षेनी पहिराबाट ठूलो जनधनको क्षति हुँदै आएको छ।
 

कमेन्ट लोड गर्नुस