सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा आज थपिए १५ कोरोना संक्रमित

२०७७ साउन २५, ०६:१५ खबर संवाददाता

धनगढी: सुदूरपश्चिममा आज थप १५ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिमका १५ जनामा कोरोना   पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा १२ जना र धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन सय ५२ जनाको कोरोना परीक्षण भएकोमा धनगढीका तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

धनगढी उप–महानगरपालिका वडा नम्बर ४ का २७, २८ वर्षीय पुरुष र  वडा नम्बर ८ का ४० वर्षीय पुरुषमा कोरोना देखिएको श्रेष्ठले बताउनुभयो। यो सँगै धनगढीमा कोरोना संक्रमितको संख्या एक सय ३१ पुगेको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा एक सय ५ जनाको स्वाब परीक्षण गरिएकोमा १२ जनाको रिपोर्ट पोजेटिभ र ९३ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए। 

उनका अनुसार डोटीको जोरायल गाउँपालिकाका २ पुरुष र २ महिलागरी ४ जना, डोटीकै केआईसिँह गाउँपालिकाका ४ पुरुष, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ पुरुष र १ महिलागरी ३ जना, त्यसैगरी बैतडीको पाटन नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ३५ पुगेको छ। प्रदेशमा सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ७४ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ९२, अछाममा सात सय २९, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय ७५, डडेल्धुराका तीन सय १२ जना, बैतडीका दुई सय ९७, बझाङका दुई सय ९५ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो। प्रदेशमा तीन हजार नौँ सय ३८ जना निको भएर घर फर्किसकेका छन् भने नौँ जनाको मृत्यु भएको छ।

कमेन्ट लोड गर्नुस