सुदूर नेपाललाई विश्वसँग जोड्दै

सधैँको सास्ती बन्यो साँफे–मार्तडी सडक

२०७७ साउन १७, ०८:१५ रासस

गङ्गराज पण्डित/बाजुरा : छब्बीस वर्ष अगाडि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ मा शिलान्यास गरिएको साँफे–मार्तडी सडकखण्डको २२ वर्षपछि निर्माण सकिएको सडक सञ्चालनसँगै बाजुरावासीमा पलाएको खुशी धेरै नटिक्ने सङ्केत देखिएको छ। सडक निर्माण सम्पन्न भई सञ्चालन भएको दुई वर्ष नपुग्दै दर्जनौँ स्थानमा पहिरो जान थालेको छ। बूढीगङ्गा नदीले सडक नै कटान गरी सडकको निसानासमेत नदेखिने गरी सडक भासिएपछि दिगो सञ्चालनमा समस्या देखिएको छ।

सडक कालोपत्रको काम सकिएको दुई वर्ष पनि पुगेको छैन्। अझै अधिकांश स्थानमा कालोपत्र नै गरिएको छैन। कालोपत्र गरेकै वर्ष पनि पहिरोका कारण वर्षात्मा सडक अवरुद्ध बनेको थियो। दुई वर्षदेखि नै पहिरो जाने र सडक बन्द हुने शृङ्खला चलिरहेको छ। यो वर्ष पनि असार दोस्रो साताबाटै पहिरो बगेपछि सडक अवरुद्ध भएको हो। एक महिना बढी भइसक्यो, सडक पूर्णरूपमा बन्द भएको छ।

बूढीगङ्गा नगरपालिका–२ अमकोटद्वारी क्षेत्र र ताप्रीसेराबाट बल्देसम्मको एक किलोमिटर सडकको निसाना नै मेटिने गरी ठूला–ठूला पहिरो खसेको र सामान्य मर्मत गरेर सडक सञ्चालन हुने अवस्थामा नरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए। ताप्रीसेराबाट अमकोटद्वारी क्षेत्रसम्मको करिब दुई किलोमिटर सडकमा यातायातका साधान नै सञ्चालन गर्न नमिल्ने गरी सडक भासिएको र सडक माथिबाट ठूला–ठूला पहिरो खसेर पूर्णरुपमा अवरुद्ध भएको छ।

यतिबेला सो क्षेत्रमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली नै खटिएर मान्छेलाई सडकमाथि जङ्गल र अमकोटगाउँबाट आवतजावत गर्न भनिएको छ। अम्कोटको जङ्गल क्षेत्रलाई छिचोल्दै सर्वसाधारणले यात्रा गर्नुपर्ने बाध्यता रहेकाले तत्काल वैकल्पिक मार्ग खोजिने सुदूरपश्चिम प्रदेशका कानून तथा गृहमन्त्री प्रकाश शाहले भने। यता अमकोटवासी भने हरेक वर्ष सडकको वैकल्पिक मार्ग बनाउँदा बनाउँदै पूरै अमकोटगाउँ नै जोखिममा परिसकेको बताउने गरेका छन्।

धेरैजसो भाग पहिरोले बगाइसकेको छ। तलबाट बूढीगङ्गा नदीले तीव्र कटान गरिरहेका कारण गाउँ नै असुरक्षित भएको छ। अब हामी यसै ठाउँमा सडक निर्माण गर्न नदिने स्थानीय नवराज पाध्याले बताए। उनका अनुसार यदि वैकल्पिक मार्ग नै खोज्ने हो भने अमकोटगाउँको बीचबाटै लैजान अनुरोध गरे। अहिले पहिरोले भासिएको सडक क्षेत्रमा खतराको चिह्न लगाएर प्रहरी परिचालन गरिएको छ।

लगातार त्रिवेणी नगरपालिका क्षेत्रको पंैमाको पहिरो र बूढीगङ्गा नदीको कटानले त्यस क्षेत्रमा सडक नै उच्च जोखिममा परेको साँफे–मार्तडी सडक डिभिजन कार्यालय अछामका इञ्जीनियर दमनकुमार विष्टकोे भनाइ छ। सडक पहिरोले भासिएसँगै आवतजावत पूर्णरूपमा रोकिएको छ। यता बडिमालिका नगरपालिका क्षेत्रमा पर्ने पानीनाउलामा पनि सडक माथिबाट लगातार पहिरो बग्न थालेपछि ज्यान जोखिममा राखेर मानिसले यात्रा गर्नुपरेको बडिमालिका नगरपालिका–४ का वडाध्यक्ष सुरेन्द्र नाथले जानकारी दिए।

आमकोटको द्वारी क्षेत्रबाट मार्तडीसम्मको करिब १४ किलोमिटर बाटोमा तीनवटा गाडी फेर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष नाथको भनाइ छ। मार्तडी आउने र मार्तडीबाट जाने सञ्जाल नै विच्छेद भएको छ। आवतजावत नै ठप्प भएको छ। पूरै सडक नै भासिएर बूढीगङ्गा नदीमा मिसिएर बगिसकेको छ। सडक कटानपछि नदीको धार परिवर्तन भएर बूढीगङ्गा नगरपालिको अमकोट बस्तीका साथै बडिमालिकाको पानीनाउला बस्ती पनि यतिबेला जोखिममा परेको छ।

त्रिवेणीको पैंमाबाट आउने पहिरोले बूढीगङ्गा नदीलाई एक किनारा लगाएको छ। त्यसैको दबाबमा सडक क्षेत्रमा पहिरो गएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको भनाइ छ। सडक सञ्जाल विच्छेद हुँदा व्यापारीले खच्चर र मान्छेबाट महङ्गो भाडा तिररे सामान बोकाउनुपर्ने बाध्यता छ। गर्भवती महिला, बिरामीले यातायात नहुँदा स्वास्थ्य संस्था नपुगेरै जीवन बिताउनुपर्ने बाध्यता बाजुराका लागि नयाँ होइन, भगवान भरोसामा बाँच्नु यहाँका जनताको वास्तविक पीडा भएको नागरिक समाज बाजुराका तुलाराम जैशीको भनाइ छ।

सडक शिलान्यासको २५ वर्षसम्म पनि बाजुरावासीले सास्ती भोग्दै आएका छन्। कुनै बर्खामा पनि ढुक्कसाथ सडक सञ्चालन भएको छैन। अछामको साँफेबगरबाट मार्तडीसम्मको ५७ किलोमिटर सडक निर्माणमै करिब रु पौने दुई अर्ब बजेट खर्च भइसकेको छ। पहाडी क्षेत्रमा प्रतिकिलोमिटर रु चार करोड बजेट कालोपत्रसम्म खर्च हुने गरेको छ। यति ठूलो मात्रामा खर्च गर्दा पनि जिल्लावासीले वर्षेनी सास्ती खेप्नु दुःखद् विषय बनेको छ। आवतजावत मात्र रोकिने नभई दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या भएको व्यापारीको भनाइ छ। 

ग्रामीण सडक पूर्णरूपमा अवरुद्ध
लगातारको वर्षााले बाजुराका ग्रामीण क्षेत्रका कच्ची सडक एक महिनादेखि पूर्णरूपमा अवरुद्ध छन्। वर्षाले सडक हिलाम्मे भएपछि गाउँका कच्ची सडक पूर्णरूपमा अवरुद्ध भएका छन्। जिल्लाको मार्तडी–कोल्टी, मार्तडी–घट्मुना, मार्तडी–डोगडीलगायतका सडक अवरुद्ध भएका छन्। विभिन्न गाउँका सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई सास्ती भएको छ। दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको यातायात व्यवसायीले बताएका छन्। कच्ची सडक गाडी चलाउन नसकिने गरी हिलाम्मे भएका छन्।

गाडी चलाउन निकै सास्ती भइरहेको ट्र्याक्टर चालक लालसिं कार्की बताउउछन्। सडक अवरुद्ध हुँदा गाउँगाउँमा जाने यात्रुलाई असहज हुनुका साथै ज्यान जोखिममा राखेर यात्रा गर्नुपरेको छ। लगातारको वर्षाले कच्ची सडकमा गाडी चल्न छाडेका छन् भने सडकभरि हिलो जम्मा भएको छ। मौसममा सुधार आउनेबित्तिकै सडक सञ्चालनका लागि डोजर परिचालन गर्ने गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए। 
 

कमेन्ट लोड गर्नुस