सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीका कारण अफगानिस्तानमा सोह्रको मृत्यु

२०७७ साउन १७, ०५:२२ रासस

अफगानिस्तानको नान्गाहार प्रान्तमा भएको तिब्र गतिको बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ। शुक्रबार अबेर राती आएको बाढीमा परी मृत्यु भएका मध्ये अधिकांश बालबालिका रहेको अधिकारीहरुले जनाएका छन्।

बाढीले अरु सयौँ घर तथा भौतिक संरचनाहरुमा समेत क्षति पु¥याएको अधिकारीहरुको भनाइ छ। देशको नान्गाहार प्रान्तमा पर्ने कोज्कुनार जिल्लामा घटना भएको प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोगिएनीले शनिबार बताए।

“अत्यधिक वर्षापछि आएको बाढीका कारण मृत्यु भएका १६ जना मध्ये १२ जना त बालबालिका मात्रै रहेका छन्,” उनले भने। बाढीमा परेर अरु चार जना बालबालिका अझै पनि बेपत्ता अवस्थामै रहेको प्रवक्ता खोगिएनीले बताए।
बाढीमा परेकाहरुलाई उद्धार गर्ने, घाइतेहरुलाई उपचार गर्ने र बेपत्ता भएकाहरुको खोजी गर्ने कार्य भने जारी रहेको उनको भनाई छ।
 

कमेन्ट लोड गर्नुस