सुदूर नेपाललाई विश्वसँग जोड्दै

सार्वजनिक सवारी सञ्चालन नहुँदा नागरिकलाई सास्ती

२०७७ असार ३१, ०८:१५ रासस

यहाँका यातायात व्यवसायीहरुले माग पूरा नभएसम्मका लागि सार्वजनिक यातायातका साधन जिल्लामा सञ्चालन गर्न नसक्ने बताएका छन्। तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा मङ्गलबार तुलसीपुरमा भएको छलफलमा अहिलेकै अवस्थामा आफूहरुले यातायात सञ्चालन गर्न नसक्ने व्यवसायीहरुले बताएका हुन्।

सरकारले सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको एक साता बितिसक्दासमेत सञ्चालनमा नआउँदा नागरिकलाई समस्या परेको छ। जिल्लामा जारी बन्दाबन्दी खुला भए पनि यातायातका साधन नखुल्दा समस्या भएको स्थानीय लोकमणि गौतमले गुनासो गरे। साउन १ गतेदेखि यातायात सञ्चालन गर्ने विषयमा भएको छलफलमा अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न व्यवसायी सहमत नभएको यातायात व्यवसायी  घनश्याम बस्नेतले बताए।

उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले यस क्षेत्रका बैंकहरुसँग छलफल गरी चार महिनाको किस्तापछि दिलाउने तथा समय थपका लागि पहल गर्ने र मजदुरहरुको कोरोना बीमा ५० प्रतिशत उपमहानगरपालिकाले व्यहोर्ने जनाएका व्यवसायी बस्नेतले बताए। ‘‘नगरप्रमुखले साउन १ गतेदेखि यातायात सञ्चालन गर्नुप¥यो भनेर छलफल गरेका थिए, तर तत्काल हामीहरुले यातायात सञ्चालन गर्न सक्दैनाँै भनेका छौँ”, उनले भने।

व्यवसायीहरुले लकडाउन अवधिको बैंकको कर्जा तिर्ने समय सार्नुपर्ने, ग्यारेजबाट गाडी निकाल्न पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकको कोरोना बीमा गरिदिनुपर्ने लगायतका माग राखेको यातायात व्यवसायी  निमकुमार श्रेष्ठले जानकारी दिए।

सरकारले असार २५ गते सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो। उपत्यकामा तीन जिल्लाभित्र तथा उपत्यका बाहिर जिल्लाभित्र मात्र सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय भए पनि सो निर्णयअनुसार सवारीका साधन सञ्चालन नहुँदा समस्या उत्पन्न भएको छ। 
 

कमेन्ट लोड गर्नुस