सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट सुदूरपश्चिम फर्किने फेरी बढे, क्वारेन्टिनमा ६ हजार बढिलाई राखियो

२०७७ असार ३०, ०६:४९ खबर संवाददाता

धनगढी : कैलालीको त्रिनगर नाकाबाट भारतबाट फर्किने क्रम फेरी बढेको छ। असार दोस्रो र तेस्रो सातामा भारतबाट फर्किने क्रम निकै कम रहेकोमा पछिल्लो पाँच दिनमा फेरी सुदूरपश्चिम फर्किने क्रम बढेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका ,प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार पछिल्लो पाँच दिनमा चार हजार सात सय बढि त्रिनगर नाका भएर फर्किएका छन्।

‘असार २५ गते एक हजार तीन सय ४६, २६ गते एक हजार चार सय १०, २७ गते ५ सय ४८, २८ गत ८ सय ६६ र २९ गते ५ सय ९४ जना भित्रिएका छन्।’ प्रहरी नायव उपरिक्ष विष्टले दिनेश खवरलाई भने। उनका अनुसार औसतमा अहिले दैनिक नौँ सय जना त्रिनगर नाका भएर भित्रिरहेका छन्। 

भारतबाट फर्किनेको संख्या बढेपछि क्वारेन्टिनमा राखिएकाहरुको संख्या पनि बढेको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा ६ हजार एक सय ९१ ज्ना क्वारेन्टिनमा रहेका छन्। केही दिनअघि क्वारेन्टिनमा चार हजारलाई मात्र राखिएको थियो। 

अहिले सबैभन्दा बढि डोटीमा एक हजार एक सय ९५ जना क्वारेन्टिनमा रहेका छन्। यस्तै कञ्चनपुरमा एक हजार ७८, कैलालीमा एक हजार ३५ जना, बझाङमा नौ सय ४३,  बैतडीमा ६ सय ३८ जनालाई क्वारेन्टिनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

अछाममा तीन सय ९१, डडेल्धुरामा तीन सय २०, दार्चुलामा दुई सय ९७ र बाजुरामा दुई सय ९४ जनालाई क्वारेन्टिनमा राखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनायका अनुसार सुदूरपश्चिममा ६१ हजार बढि अटाउने एक हजार पाँच सय ७१ वटा क्वारेन्टिन बनाईएको छ। 
 

कमेन्ट लोड गर्नुस