सुदूर नेपाललाई विश्वसँग जोड्दै

अख्तियारकै नाममा धन्दा चलाउने 'ज्योतिष' अर्जुन क्षेत्री सहित ९ पक्राउ

२०७७ असार २७, ०५:५७ रासस

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नाम लिँदै जग्गा व्यवसायीसँग गैरकानुनी लाभ लिएको आरोपमा विभिन्न नौ जनालाई पक्राउ गरिएको छ। 

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–२ चपलीका जग्गा व्यवसायीसँग आयोगमा उजुरी परेको भन्दै धाकधम्की दिएको पाइएको छ। आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले आफूलाई ज्योतिष बताउने अर्जुनकुमार थापा क्षेत्री, विजय रावल, जगदीश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भुप्रसाद रेग्मी, शङ्करविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेललाई बिहीबार पक्राउ गरिएको हो। आयोगले उनीहरूको अनुसन्धान जारी रहेकाले आजमात्रै सार्वजनिक गरिएको हो। 

आरोपीमाथि आयोगमा उजुरी परेको छ भनी आपराधिक लाभ लिन खोजी मोबाइल फोनबाट सूचनाकर्तालाई पटकपटक मिसकल गरेको, फोन रिसिभ गर्दा आफूहरू अनुसन्धान अधिकृत भनेको पाइएको छ। 

आयोगमा उजुरी परेको, अनुसन्धान प्रक्रिया जारी रहेको, अनुसन्धान रोक्ने भए मलाई भेटनुस् भन्नेजस्ता एसएमएस पठाएको, फोन गरी भेट्न बोलाई डर धम्की दिएको पाइएको छ। ओरोपीले डरधम्की दिई बार्गेनिङ गरेर रकम मिलाएको भन्ने सूचनाका आधारमा आयोग र महानगरीय अपराध महाखाशाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। आरोपीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पठाइएको प्रवक्ता कोइरालाले बताए।

कमेन्ट लोड गर्नुस