सुदूर नेपाललाई विश्वसँग जोड्दै

महोत्तरीमा बाढी : २४ गाउँ जोखिममा

२०७७ असार २६, ०९:३५ रासस

बुधबार साँझदेखि नै महोत्तरी जिल्लामा मुसलेधार पानी परेपछि जिल्लाको आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ। लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन्।

बाढीका कारण जिल्लाका अधिकाँश गाउँमा बाढीको पानी पस्ने जोखिम बढेको छ। बाढीका कारण नदी छेउछाउका २४ भन्दा बढी गाउँका बासिन्दाहरु त्रसित भएका छन् भने उनीहरु बाढीको बेला हुनसक्ने क्षति विरुद्ध सतर्कता अपनाउनमा जुटेका छन्।

वर्षायाममा महोत्तरीको धेरै जसो भाग डुबानमा पर्ने गरेको तथा बाढीले सयौँलाई विस्थापित बनाउँदै आएको कुरालाई मध्य नजर गर्दै स्थानीयवासीले नदीहरुमा आएको बाढीलाई देखेर सुरक्षा व्यवस्थाको जोहो गर्न थालेका छन्।

बाढीबाट हुने जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र जिल्ला दैवी प्रकोप उद्धार समितिलगायत सम्बन्धित निकाय तयारी अवस्था रहेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस