सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरिता गिरीको सांसद पद रिक्त

२०७७ असार २५, ०६:३० रासस

काठमाडौँ: सङ्घीय संसद् सचिवालयले समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ। समाजवादी पार्टीले संसद् गिरीलाई पार्टीको सबै जिम्मेबारीबाट हटाइएको पत्र संसद् सचिवालयलाई दिएपछि सांसद गिरीलाई पदमुक्त गरिएको हो।

संविधानको धारा ८९ बमोजिम सांसद गिरी सांसदबाट निष्कासित भएको संसद् सचिवालयले जनाएको छ। समाजवादी पार्टीका प्रमुख सचेतकले सांसद गिरीलाई प्रतिनिधिसभा सदस्य पदबाट हटाउने पार्टीले गरेको निर्णयसहित पदमुक्त गरिदिन बुधबार सचिवालयलाई पत्र पठाएको थियो। 

संसद्का महासचिव भरतराज गौतमले सांसद गिरीलाई पार्टीबाट निष्कासन गरेको जानकारी संसद् सचिवालयलाई जानकारी गराएको र उक्त जानकारी नियमानुसार नै पाइएकाले उनको सांसद पद रिक्त भएको सूचना जारी गरेको बताए। 

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै समाजवादी पार्टीको असार २३ गतेको पदाधिकारी बैठकले सांसद गिरिलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको थियो। पार्टीका महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा गठित कार्यदलले गिरीलाई कारवाही गर्न सिफारिससहित पार्टीलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। 

गत जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो।
 

कमेन्ट लोड गर्नुस