सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुम्बईका होटलहरु बुधबारदेखि खुला

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७७ असार २४, १०:५६ रासस

मुम्बइमा रहेका होटलहरु उनीहरुको क्षमताको ३३ प्रतिशत सञ्चालन गर्न पाउने गरी बुधबारदेखि खुला गरिएको छ। ती होटलका अरु ६७ प्रतिशत क्षमताका कोठाहरु भने सरकारले कोरोना भाइरसका संक्रमितहरुलाई राख्ने क्वारेन्टाइनको प्रयोजनका लागि सरकारलाई नै प्रयोग गर्न दिइने बताइएको छ। 

तीन महिनाभन्दा लामो समयदेखि बन्द रहेका यहाँका होटलहरु बुधबारदेखि भने खुलेको मुम्बइबाट प्राप्त भएको समाचारमा जनाइएको छ। सो समाचारअनुसार ती होटलहरुले भने कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सक्दो मात्रामा सतर्कता अपनाएको बताएका छन्। 

यसअघि महाराष्ट्र सरकारले यहाँका होटलहरु सञ्चालन गर्न दिएको थिएन। महाराष्ट्र भारतमा सबैभन्दा बढी मात्रामा कोरोना भाइरसको संक्रमण हुने राज्यका रुपमा पर्दछ। होटलको क्षमता अनुसारका पाहुनाहरु राख्न र सेवा गर्न पनि पाइने छैन । ती होटलहरु खुल्नु अगाडि पनि राम्रो सँग सफा गर्ने र स्यानिटाइजर प्रयोग गरेर संक्रमण हुन नदिने अवस्थामा ल्याइएको बताइएको छ।

एउटै होटलमा कतै पाहुनालाई सेवा दिने र कतै क्वारेन्टाइन बनाइ राख्ने गर्दा झनै संक्रमणको खतरा हुने भएकोले यी दुई क्षेत्रलाई अलग अलग गरेर राखिएको बताइएको छ। मुम्बई भारतको आर्थिक राजधानीका रुपमा पनि चिनिन्छ। यहाँ पर्यटन व्यवसायका ठूला संरचनाहरु रहेका बताइन्छ। 

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा मात्र दुई लाख १७ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण भएको देखिएको छ। ती मध्ये १ लाखभन्दा बढी व्यक्ति निको भएर घर फर्किएका छन् भने करिब ९० हजार अझै पनि संक्रमित रहेका छन्। यो राज्यमा मात्र कोरोनाको संक्रमणबाट ९ हजार २५० जनाको ज्यान गएको यहाँको सरकारले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस