सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रिपरिषद् बैठक बस्दै, सुदूरपश्चिमका पाल नयाँ आईजीपी बन्लान ?

२०७७ असार २३, १२:२२ खबर संवाददाता

धनगढी : सरकारले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति तयारी गरेको छ। आज अपरान्ह बस्ने भनिएको मन्त्रिपरिषदको बैठकले आइजीपी नियुक्त गर्नेछ। नयाँ आईजीपीले २५ गतेबाट कार्यकाल सम्हाल्नेछन्। 

हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेपछि नयाँ आईजीपी नियुक्त गरिन लागेको हो। ज्ञवालीसँगै एआईजी तारिणीप्रसाद लम्साल र डीआईजी सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन्। सरकारले दुई एआईजी शैलेश थापा र हरि पालमध्ये एकजनालाई आईजीपी बनाउनेछ। 

नयाँ आईजीपीको दौडमा रहेका पालको घर सुदूरपश्चिम हो। उनी दार्चुलाको मालिकार्जुन गाउँपालिकामा जन्मिएका हुन् भने उनको घर कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि छ। आईजीपीको दौडमा रहेका पाल र थापा दुवै ०४९ सालमा प्रहरी निरीक्षक बाट सेवा प्रवेश गरेका हुन्। 

प्रतिस्पर्धा रहेका पाल विगतमा विवादमा तानिएका छैनन्। पालले कास्की, रूपन्देही, धनुषा, नुवाकोट, डडेल्धुरा, प्रदेश २ र विशेष ब्युरोलगायत महत्त्वपूर्ण स्थानको जिम्मेवारी निर्वाह गरेका छन्। हाल उनी अपराध अनुसन्धान तथा कार्य विभागको प्रमुख छन्।
 

कमेन्ट लोड गर्नुस