सुदूर नेपाललाई विश्वसँग जोड्दै

वाग्मती सफाइ महाअभियान ३७३ औँ हप्तामा

फाइल फोटो
फाइल फोटो
२०७७ असार २०, ०९:३० रासस

वाग्मती सफाइ महाअभियानको ३७३औँ हप्तामा नदी किनारको गुह्येश्वरी, पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ। कोरोना भाइरसको सङ्क्रमणका कारण नदी किनारमा बसोबास भएका अभियानकर्मीले सफाइ अभियानलाई निरन्तरता दिनुभएको हो।

नदी किनारभन्दा टाढा निवास भएका अभियानकर्मीले भने टोलटोलमै सफाइ अभियानलाई निरन्तरता दिए।पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ भएको हो। पशुपति क्षेत्रमा विगत हप्ताभन्दा केही सफा देखिएको उनले बताए। वर्षाद्को बाढीका कारण पनि नदी सफा देखिन थालेको छ। पानीको बहावले नदी किनार सफा देखिए पनि त्यसमाथिका स्थानमा भएको फोहर उठाइएको जनाइएको छ।

यसैगरी शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ। सडकको फोहर हटाउनाका साथै झारपात पनि टिपिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। सो अवसरमा कुहिने र नकुहिने फोहरलाई छुट्याएर व्यवस्थापन गरिएको थियो। सफाइमा श्री हनुमान मार्ग टोल विकास समितिका पदाधिकारी एवं सदस्यसमेत उपस्थित भई भौतिक दूरी कायम गरी सफाइ गरिएको जनाइएको छ।

 यसैगरी गुह्येश्वरीमाथिको वाग्मती क्षेत्रमा ३३३ हप्ताको सफाइ अभियानलाई निरन्तरता दिइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडिको वाग्मती किनारमा रहेको छाडा छोडिएका गाई–बाच्छा संरक्षण स्थलमा सफाइ गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले राससलाई जानकारी दिए।

विष्णुमती, मनोहरा, चक्रपथको उत्तरी खण्ड, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ अभियानलाई भौतिक दूरी कायम गर्दै निरन्तरता दिइएको छ। विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानको प्रभावबाट देशभरका १०६ भन्दा बढी स्थानमा अभियान सुरु भएको छ। यी स्थानमा चैतदेखि बन्दाबन्दीका कारण अभियान सञ्चालनमा बाधा पुगेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस