Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

खाद्य कम्पनीबाट सुर्खेतमा अनलाइन होम डेलिभरी

फाइल फोटो
फाइल फोटो
रासस
२०७७ असार १७, ११:५४
अ+

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतमा अनलाइन होम डेलिभरी शुरु गरेको छ। मङ्गलबारदेखि अनलाइन होम डेलिभरी सेवालाई विस्तार गरी कर्णाली प्रदेशको राजधानी सुर्खेत कार्यालयबाट होम डेलिभरी सेवाको शुरुआत गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए। बन्दाबन्दीका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथभित्र गत चैत २६ गतेदेखि अनलाइनमार्फत होम हेलिभरी सेवा प्रदान गर्दै आएको छ।

बन्दाबन्दी केही खुकुलो भएसँगै कम्पनीले निजी कम्पनी सस्तोडिलसँग व्यापार साझेदारी गरी चक्रपथ बाहिर खाद्य पदार्थ निःशुल्क रुपमा (डेलिभरी चार्ज नलिइ) होम डेलिभरी गर्दै आएको छ। काठमाडौँपछि पहिलो प्रदेशका रुपमा सुर्खेतबाट अनलाइन बिक्रीवितरण सेवा सञ्चालन गरिएको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख भीम थापाले जानकारी दिए। “शुरुआती चरणमा हामीले तीन प्रकारका चामल र कर्णालीको फापर बिक्री वितरणमा राखेका छौँ, उपभोक्ताको मागअनुसार अन्य सामग्री विस्तार थप गर्दै जानेछौँ”, उनले भने।

उनका अनुसार मङ्गलबार चार अर्डर आएको र डेलिभरीसमेत गरिसकिएको छ। “पहिलो चरणमा वीरेन्द्रनगर नगरपालिकाभित्र र विस्तारै जिल्लाभर सेवा सञ्चालनको योजना रहेको छ”, उनले भने, “कम्पनीको आफ्नै गाडीमा डेलिभरी शुल्क नलिई सेवा प्रवाह गर्नेछौँ।”

कम्पनीले काठमाडौँ उपत्यकाभित्र तीन प्रकारका चामल (रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल), कर्णालीमा उत्पादित सिमी, केराउ दाना, मुसुरो र रहरको दाल, गहुँको पिठो, आयो नून, डिडिसीको शुद्ध घ्यु, वाल्ट्रा कम्पनीको इन्फ्रारेड चुलो र स्यानिटाइजर अनलाइनमार्फत बिक्रीवितरण गर्दै आएको छ।

अनलाइनमार्फत अर्डर गर्न नेपाल बैंक लिमिटेड र सेञ्चुरी बैंकको खल्ती वा इ–सेवामार्फत ‘इ–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था  छ।