सुदूर नेपाललाई विश्वसँग जोड्दै

पटक–पटक प्रदेशवासीलाई ठगे सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदीले

२०७७ असार १६, ०८:०३ खबर संवाददाता

धनगढी : ‘यसै आर्थिक बर्षभित्र प्रयोगशाला स्थापना गर्न सकिने सम्भावना कम छ। अर्को आर्थिक बर्षमा प्रयोगशाला स्थापनाका लागि बजेट विनियोजन गर्ने योजना छ।’ चैत १३ गते बिहिवार दिनेश खवरसंग कुराकानी गर्दै सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भनेका थिए। 

उक्त समाचार दिनेश खवरमा प्रकाशन भएपछि मन्त्री सुवेदीको विरोध भयो र सोही दिन उनले बोली फेर्दै भने, ‘मंगलवारभित्रै पीसीआर मेसिन धनगढी पुग्छ।’ अर्को साता संघीय सरकारले एउटा पीसीआर मेसिन त धनगढी पठायो तर निकै कम सङख्यामा परीक्षण क्षमता भएको।

एक जनाको परीक्षण गर्न झण्डै एक घण्टा १० मिनेट समय लाग्ने मेसिन धनगढी आयो। संघीय सरकारले नै दोस्रो पटक आरटी–पीसीआर मेसिन पठाएपछि अहिले उक्त मेसिन बन्द रहेको छ। संघीय सरकारले मेसिन पठाउन अगाडि नै चैत १५ को प्रदेश मन्त्रीपरिषद् बैठकले कैलाली, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापनाको निर्णय गरेको थियो।

तर उक्त निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन्। जेठ अन्तिम साता आरडिटी परीक्षण भरपर्दो नभएको भन्दै नेपाली काग्रेंस गौरीगंगा समितिले ज्ञापन पत्र वुझाउँदा सामाजिक विकास मन्त्री सुवेदीले फेरी अर्को झुठ बोले। उनले भनेका थिए, ‘सबै प्रक्रिया पूरा गर्दा समय लागेको छ। असार १० गतेसम्म पीसीआर मेसिन खरिद भएर प्रयोगशाला सञ्चालन हुन्छ।’

मन्त्री सुवेदीले असार १० गतेभित्रै प्रयोगशाला स्थापना गर्ने बताए पनि अहिलेसम्म आवश्यक सबै उपकरण समेत खरिद भएको छैन्। सुदूरपश्चिमको मन्त्री परिषद्ले गरेको निर्णय अनुसार तीन वटा प्रयोगशाला स्थापनाका लागि टेण्डर आह्वान भएको थियो। पीसीआर मेसिन खरिदको टेण्डर धनगढीकै डिवी मेडिसिनले पाएको छ।

प्रयोगशाला स्थापनाका केही सामाग्री आईतवार धनगढी पुगाइएको छ। पटक–पटक झुठो आश्वासन दिएका मन्त्री सुवेदीले अव एक साताभित्रै प्रयोगशाला सञ्चालन हुने बताएका छन्। ‘मेसिन जडानका लागि आवश्यक जनशक्तिको अभाव रहेको छ। तर पनि हामीले व्यवस्थापन गरिरहेका छौ। एक साताभित्रै प्रयोगशाला मार्फत परीक्षण सुरु हुन्छ।’ मन्त्री सुवेदीले सोमवार दिनेश खवरसंग कुराकानी गर्दै भने। 

नीजि क्षेत्रले अभियान चलाएको एक महिना नपुग्दै प्रयोगशालाका सामाग्री डडेल्धुरा पुगाईएको छ। जडान पनि सुरु भईसकेको छ। प्रदेश सरकारले तीन वटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको सोमवार नै तीन महिना पुगेको छ तर पनि प्रयोगशाला स्थापना भएर कहिले सञ्चालन हुने हो ? निश्चित छैन्। 
 

कमेन्ट लोड गर्नुस