सुदूर नेपाललाई विश्वसँग जोड्दै

इलाममा शनिबार बाहेक नियमित पसल खुल्ने

फाइल फोटो
फाइल फोटो
२०७७ जेठ २२, ०५:४२ खबर संवाददाता

इलाममा अब नियमित रुपमा बजार सञ्चालन भएको छ। लकडाउनले उद्योग व्यवसायीलाई मात्र नभएर सर्वसाधारणलाई समेत असर पर्न गएकाले बिहीबारबाट इलाममा बजारका अधिकांश पसलहरु खोल्ने निर्णय गरिएको हो। बुधबार इलाम उद्योग वाणिज्य सङ्घ इलामले पत्रकार सम्मेलन गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र सरकारको मापदण्ड अनुसार नै सुरक्षित रहँदै बजारका पसलहरु खोलिने बताइएको छ। 

हरेक दिन बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म जोखिमपूर्ण पसलबाहेकका सबै पसल सञ्चालन गर्न पाइनेछ। सम्पूर्ण बैंक, वित्तीय संस्थाहरु भने बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न पाइने उद्योग वाणिज्य सङ्घले जनाएको छ।

संघका अध्यक्ष ईश्वरलाल चिपालुका  अनुसार ‘होटल, ब्युटि पार्लर, सैलुन, डान्स सेन्टर, मिठाइ पसल, चिया पसल, व्यायम स्थल, सार्वजनिक सवारी साधन र मनोरञ्जनका स्थलहरु बाहेकका पसललाई सञ्चालन हुनेछन्। 

बजार खोलिने सीमित समय मात्र हुँदा बजारमा भिडभाड बढ्ने र जोखिम पनि हुने भएकाले नियमित रुपमा बजार सञ्चालन गर्ने निर्णय गरिएको बताइएको छ। पसल खोल्दा हरेक पसल अगाडि साबुन पानीको व्यवस्था गर्नुपर्ने, पसलका हरेकले माक्स, पञ्जा अनिवार्य रुपमा लगाउनुपर्नेछ। पसलमा ह्याण्ड स्यानिटाइजरको व्यवस्था अनिवार्य गरिएको छ।

धेरै भिडभाड हुने ठाउँमा सामाजिक तथा भौतिक दुरी कायम गर्दै सुरक्षा घेरासमेत व्यवसाय सञ्चालन गर्ने व्यक्तिले नै निर्माण गरेर मात्र व्यवसाय गर्न पाइने सङ्घले जनाएको छ। कोरोना भाइरस (कोभिड १९) को कारण लकडाउनले व्यवसाय नै धरापमा पर्दै गएकाले नियमित रुपमा बजार सञ्चालन भए पनि शनिबार भने पूर्णरुपमा बजार बन्द नै रहने उनले बताए।
 

कमेन्ट लोड गर्नुस