सुदूर नेपाललाई विश्वसँग जोड्दै

विज्ञहरुको भेलामा प्रधानमन्त्रीका दुई प्रतिबद्धता

२०७७ जेठ २१, १०:४७ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा बोलाएका जनस्वास्थ्य र जनजीवनमा सरोकार गर्ने स्वतन्त्र तथा अन्य विज्ञहरुसँग कोरोना भाइरसको महामारीबाट बच्न सल्लाह सुझाव लिएका छन्। प्रधानमन्त्रीले विज्ञहरुसँग कोरोना भाइरससँग जुध्न विज्ञहरुको समूह गठन गर्ने र यस्ता छलफल नियमित रुपमा गर्ने दुई प्रतिबद्धता व्यक्त गरेका छन्।

कोरोना भाइरस नियन्त्रणको सरकारी मोडल असफल भइरहेका बेला प्रधानमन्त्रीले विभिन्न क्षेत्रका २५ विज्ञहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका हुन्। विज्ञहरुले कोरोना भाइरस  रोकथाम र नियन्त्रणका लागि आफ्ना सल्लाह र सुझावहरु प्रस्तुत गरेका थिए। प्रधानमन्त्रीले यसअघि आलोचना गर्ने गरेका विज्ञहरु र स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुलाई पनि छलफलमा बोलाएका थिए।

विज्ञहरुको सुझावलाई  सकारात्मक रुपमा ग्रहण गरेका प्रधानमन्त्रीले विज्ञहरुको समूह नै गठन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। छलफलका क्रममा विज्ञहरुले कोरोना भाइरस संक्रमणको परीक्षणको दायरा बढाउन, क्वारेन्टिन व्यवस्थित र सुरक्षित बनाउन, संक्रमितले अव्यवस्थित क्वारेन्टिनमा राख्न भन्दा घरमा राख्ने वातावरण बनाउन र लकडाउन खुकुलो बनाउन सुझाव दिएका थिए।

यस्तै उनीहरुले कोरोना भाइरस संक्रमणको नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बनाइदिन र उनीहरुलाई प्रोत्साहन हुनेगरी कार्यक्रम ल्याउन पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन्। उनीहरुले लकडाउन खुकुलो बनाएर निम्न वर्गकको जीवन सहज बनाउन पनि सरकारसँग माग गरेका थिए।

वैज्ञानिक डा। समीरमणि दीक्षितले क्वारेन्टिन व्यवस्थित बनाउन र परीक्षणको दायरा बढाउन माग गरेको बताए। उनले सरकारी स्वास्थ्य संस्थाले मात्रै नसके निजी अस्पताललाई पनि अधिकार दिनु पर्ने बताएका थिए। डा। दिक्षितका अनुसार उनले प्रधानमन्त्री ओलीलाई कोरोनाका विषयमा बोल्दा अध्ययन गरेर बोल्नु पर्ने सुझाव समेत दिएका छन्।

उनले प्रधानमन्त्री ओलीलाई भने,‘बोसीय तत्व भनेको के हो? यो विषयमा बोल्न अध्ययन जरुरी हुन्छ।’ नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीले मुलुकभर संक्रमण बढिरहेको अवस्थामा सरकारले गम्भीर भएर काम गर्न जरुरी भएको बताएका थिए। उनले क्वारेन्टिन व्यवस्थित बनाउनेदेखि परीक्षणको दायरा बढाउनेसम्मका सुझाव दिएका थिए।

डा. अनुप सुवेदीले संक्रमण समुदायस्तरमा फैलिसकेकाले यसको नियन्त्रणका लागि सरकार गम्भीर हुनुपर्ने सुझाव दिएका थिए। जनस्वास्थ्यविद् डा। रवीन्द्र पाण्डेले लकडाउनको मोडालिटी परिवर्तन गर्न आवश्यक रहेको सुझाएका थिए। छलफलमा डा। सन्दुक रुइत, भगवान कोइरालादेखि अर्थविद् रामेश्वर खनालसम्म सामेल थिए।
 

कमेन्ट लोड गर्नुस