सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर ताकेता फिर्ता लेऊ, समयावधि थप गर : देउवा

फाईल तस्बिर
फाईल तस्बिर
२०७७ जेठ २१, ०५:४० रासस

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यही जेठ २५ गतेभित्र कर तिर्न निर्धारित समयावधि तत्काल फिर्ता गरेर स्थिति मूल्यांकनका साथ संवादमार्फत समयावधि थप गर्न सरकारसँग माग गरेका छन्। उनले आज वक्तव्यमार्फत करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी  सरकारको भएको बताएका छन्।

आन्तरिक राजस्व विभागमार्फत नेपाल सरकारले जेठ २५ गतेभित्र विभिन्न कर चुक्ता गर्न ताकेता गरेको जनाइएको छ। “व्यवसायीहरुले भोग्नु परेको व्यावसायिक जटिलतालाई सहजीकरण गर्न आवश्यक नीतिनिर्माण गर्ने र राहतको विविध योजना ल्याउने दायित्व सरकारको थियोे।

प्रतिपक्षको पटकपटकको आग्रहका बाबजुद राहतको न्यायोचित प्रबन्ध गर्न सरकार बिलकुल गम्भीर भएन तर बन्दाबन्दी भएको अढाइ महिना पुग्न लागेको र जेठ ३२ सम्म कायमै रहेको स्थितिका बीच कर तिर्न ताकेता गर्नु भनेको सरकारले बजारको स्थिति बुझेर पनि बुझ पचाउनु र नागरिकको पीडाप्रति असंवेदनशील बन्नु हो”, पूर्वप्रधानमन्त्री देउवाले भनेका छन्।

कोरोनाका कारण नागरिकको जीवन र मुलुकको अर्थतन्त्रले चुनौती भोग्नुपरेका बेला अनावश्यक खर्च घटाउन मितव्ययिताका लागि गर्नुपर्ने एवं गर्न सकिने निर्णय र कार्यमा सरकार गम्भीर नभएको सभापति देउवाको आरोप छ। 

व्यापक पिसिआर परिक्षण गरेर सानाठूला व्यवसाय क्रमशः सञ्चालन गर्ने दिशामा आवश्यक पहलकदमी र ठोस कार्ययोजना सरकारसँग नदेखिएको बताउँदै उनले समग्र व्यावसायिक क्षेत्रको चुनौतीलाई सहज बनाउन सरोकार पक्षसँग संवादका साथ सहजीकरण प्याकेज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
 

कमेन्ट लोड गर्नुस