Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

सामुदायिक वन उपभोक्ता महासङ्घ २५औँ वर्षमा

२०७७ जेठ १८, १०:५७
अ+

सामुदायिक वन उपभोक्ता समूहको वनमाथिको अधिकार स्थापना, संरक्षण एवं प्रवद्र्धन गर्ने तथा उपभोक्ता समूहको क्षमता र नेतृत्व विकास गर्ने लक्ष्यसहित स्थापना भएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल २५औँ वर्षमा प्रवेश गरेको छ। विसं २०५२ जेठ १८ गते स्थापना भएको महासङ्घ मुलुकभर रहेका सामुदायिक वन उपभोक्ता समूहको प्रतिनिधिमूलक छाता सङ्गठन हो।
 
महासङ्घले स्थापनापश्चात् २५ वर्षको अवधिमा छ राष्ट्रिय महाधिवेशन, एक विशेष महाधिवेशन र सात राष्ट्रिय परिषद् सम्पन्न गर्दै राज्य पुनःसंरचनाअनुसार सङ्गठनलाई सङ्घ, प्रदेश, जिल्ला र स्थानीयस्तरमा विस्तार र सुदृढ गर्दै आएको जनाएको छ। यस २५ वर्षको अवधिमा महासङ्घले आफूलाई नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजका रुपमा स्थापित हुन र परिचित गराउन सफल भएको महासङ्घका अध्यक्ष भारती पाठकले बताए।
 
मुलुकभर २२ हजार २६६ सामुदायिक वन हस्तान्तरण भएका र त्यसमा २९ लाख सात हजार ८७१ घरधुरीले २२ लाख ३७ हजार ६७० हेक्टर व्यवस्थापन गर्दै आएका छन्। सामुदायिक वनको भावना र मर्मअनुसार वन व्यवस्थापन कार्यक्रम स्थानीय उपभोक्ताहरूको सक्रिय सहभागितामा प्रभावकारी देखिएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको सामुदायिक वन एक सिकाइ केन्द्र्र्रका रुपमा स्थापित भएको छ। 
 
महासङ्घले स्थापना भएदेखि वन क्षेत्रको संरक्षणका साथै एक सशक्त नागरिक सङ्गठनका रुपमा स्थापित भएको र गाउँ तहदेखि, जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरमा सञ्जाल रहेको महासङ्घले जनाएको छ। महासङ्घले ५० प्रतिशत महिला सहभागिताका लागि विधानमै व्यवस्था गरेर लागू गरेको र दलित, जनजाति, गरिब, विपन्न वर्ग तथा क्षेत्रगत प्रतिनिधित्वको व्यवस्था विधानमै गरेर महिला सहभागिता र समावेशीकरणको मुद्दा व्यवहारमा कार्यान्वयन गरेको अध्यक्ष पाठकले बताए। 

महासङ्घले विशेष गरी समुदायमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, महिला सशक्तीकरण, गरिब विपन्न वर्गको जीविकोपार्जनमा सहयोगलगायतका विषयमा सामुदायिक वन उपभोक्ता समूहलाई सहजीकरण गर्ने र अभियान सञ्चालन गर्ने गर्दै आएको छ। स्थापनाको रजत जयन्ती मनाउने क्रममा महासङ्घले पत्रकार सम्मेलन, उपभोक्ताहरूले घरघरमा दीप प्रज्वलन, सबै उपभोक्ता र महासङ्घका पदाधिकारीहरूले करेसाबारी तथा बारीमा कम्तीमा एक बिरुवा अनिवार्य रोप्नेलगायतका कार्यक्रम गरेको अध्यक्ष पाठकले जानकारी दिए।