सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या १७ पुग्यो

२०७७ जेठ १३, ०३:२९ खबर संवाददाता

धनगढी : सुदूरपश्चिममा थप २ जनामा कोरोना पुष्टि भएको छ। योसंगै सुदूरपीश्चममा संक्रमितको सङख्या १७ पुगेको छ। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीय बालिका गरी सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि भएको हो।

अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिईन्। उनका बुवामा पनि आईतवार कोरोना संक्रमण पुष्टि भईसकेको छ। उनको सेती अस्पतालमा उपचार भईरहेको छ। कैलालीका संक्रमित भने जिल्लाको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा छन्। उनी पनि भारतबाट आएको खुलेको छ। सोही क्वारेन्टाइनमा रहेका तीन जनामा यसअघि पनि कोरोना पुष्टि भएको थियो। 

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनी युएईको दुबईबाट फर्किएका थिए। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। लम्कीका २१ बर्षीय युवक भारतबाट फर्किएका थिए। 

बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो। उनी पूर्वी नेपालबाट सुदूरपश्चिम आएकी थिईन्। बैशाख १ गते सम्म पुष्टि भएका पाँचै जना संक्रमित कोरोनालाई जितेर घर फर्किसकेका छन्। त्यसपछि ४० दिनसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाका नयाँ संक्रमित फेला परेनन्। 

जेठ नौँ गते एकैदिन सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भयो। कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो। कैलालीका तीन जना संक्रमित मध्ये एक जना भारतबाट लुकिछीपी आएका थिए भने बैतडीका संक्रमित पनि संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडि भारतबाट फर्किएका थिए।

अन्य तीन जनाको भने आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। त्यसपछि जेठ १० गते थप चार जनामा कोरोना पुष्टि भयो। बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए।

जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भयो। उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए। 
 

कमेन्ट लोड गर्नुस