सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी चामल प्रकरण : महेन्द्रनगर अख्तियारले विस्तृत अनुसन्धानका लागि फाईल पठायो

२०७७ जेठ १३, १२:३९ खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको प्रकरणमा अख्तियारले विस्तृत अनुसन्धानका लागि फाईल केन्द्र पठाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले प्रारम्भीक अनुसन्धानका क्रममा खरिद प्रक्रियामा कैफियत देखिएपछि उजुरी कायम गरेर विस्तृत अनुसन्धानका लागि फाईल केन्द्र पठाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका निमित्त प्रमुख महेश पाण्डेयले प्रारम्भिक अनुसन्धानपछि टिप्पणी उठाएर केन्द्र पठाईएको जानकारी दिए। उनका अनुसार विस्तृत छानविनका लागि अनुसन्धान अधिकृत खटाउन समेत माग गरिएको छ। 

अख्तियार स्रोतका अनुसार प्रारम्भीक अनुसन्धानका क्रममा उप–महानगरपालिकाले सार्वजनिक खरिद ऐन मिचेर राहतका सामाग्री खरिदका लागि ठेक्का सम्झौता गरेको भेटिएपछि ‘राहत वितरणमा अनियमितता’ गरेको उजुरी कायम गरिएको छ। ‘सञ्चार माध्यममा आएका समाचारलाई आधार मान्दै अख्तियारले उप–महानगरपालिकामा छापा हानेर खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको थियो।’

अख्तियार स्रोतले भन्यो, ‘प्रारम्भीक अनुसन्धानका क्रममा सार्वजनिक खरिद ऐन मिचेर मिलेमतोमा ठेक्का सम्झौता गरी राहत सामाग्री खरिद गरेको देखिएको छ।’ सार्वजनिक खरिद ऐन अनुसार आपूर्तीकर्तासँग ठेक्का सम्झौता नगरिएको, हतार हतारमा सूचना जारी गरी एउटै आपूर्तीकर्तालाई ठेक्का पारेको, खाद्य वस्तुको गुणस्तर समेत परीक्षण नभएको अख्तियारको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको एक अधिकारीले दिनेश खबरलाई बताए।

उप–महानगरपालिकाले धनगढीको ठाकुर ट्रेड लिङ्कलाई दुई करोड ६१ लाखमा ठेक्का दिदै राहतको चामल लगायतका सामाग्री आपूर्ती गरेको थियो। अख्तियारले जेठ १ गते धनगढी उप–महानगरपालिकामा छापा हान्दै खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको थियो।
 

कमेन्ट लोड गर्नुस