धनगढी : गौरीफन्टा नाकाबाट पाँच दिनमा छ हजार तीन सय २० जना नेपालीको उद्धार गरिएको छ। जेठ २, ३, ७, ८ र ९ गते उनीहरुको उद्धार गरिएको हो। जेठ २ र ३ गते नौँ सय ५०, ७ गते आँठ सय ५८, ८ गते दुई हजार चार सय ९८ र ९ गते दुई हजार १४ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उद्धार गरिएका मध्ये दुई सय ६ जनालाई धनगढी क्वारेन्टाइनमा राखिएको छ भने बाँकी छ हजार एक सय १४ जनालाई सम्बन्धित पालिकामा पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। दुई सय छ मध्ये धनगढी बाहिर घर भएकाहरुलाई आज पठाईने उनले बताए।
छ हजार तीन सय बढिको उद्धार भएपनि कोरोना परीक्षण नहुँदा सुदूरपश्चिममा जोखिम बढेको छ। भारतमा सबैभन्दा बढि संक्रमित रहेको महाराष्ट्रबाट आएका मजदुरको समेत परीक्षण हुन सकेको छैन्। स्थानीय प्रशासनले दिएको जानकारी अनुसार २ र ३ गते भित्रिएका नौँ सय ५० जनाको भने ¥यापिड टेस्ट गरिएको थियो। महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो।
तर ७ गते आएका ८ सय ५८ जनालाई ¥यापिड टेस्ट समेत नगरी गाउँ पठाईएको थियो। ८ गते आएका दुई हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ। यस्तै ९ गते भित्रिएका दुई हजार १४ जनामा कसैको पनि परीक्षण गरिएको छैन्।
पाँच दिनको अवधिमा झण्डै पाँच हजार नेपाली परीक्षण विना नै गौरीफन्टा नाकाबाट भित्रिएका छन्। स्थानीय प्रशासनले उद्धारका लागि समन्वय गरेपनि स्थानीय र प्रदेश सरकारले परीक्षणको व्यवस्थापन गर्न नसक्दा समस्या भएको हो।
‘ठूलो सङख्यामा नेपालीको उद्धार गरेका छौ,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘कीट नै नपाएपछि परीक्षण विना नै भित्र्याउन पर्ने बाध्यता रहेको छ।’ परीक्षणका लागि स्थानीय र प्रदेश सरकारसंग समन्वय भएपनि सबैको परीक्षण हुन नसकेको उनले बताए।
यता सुदूरपश्चिम प्रदेश सरकारले भने कीटको अभाव रहेको जनाएको छ। नौँ वटा जिल्लामा झण्डै तीन हजार ¥यापिड कीट मौज्दात रहेपनि प्रदेश सरकारसंग भने मौज्दात नरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कीट अभाव रहेको स्विकार गरे। उनले ¥यापिड कीटका लागि स्वास्थ्य मन्त्रालयका र विभागसंग समन्वय भईरहेको बताए।