सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ५ संक्रमितको तीन अस्पतालमा उपचार हुँदै

२०७७ जेठ १०, ०६:२४ खबर संवाददाता

धनगढी : ४० दिनपछि सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका नयाँ संक्रमित भेटिएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा लगिएको छ। शुक्रवार एकै दिन सुदूरपश्चिमका तीन जिल्लाका ५ जनामा कोरोना पुष्टि भएपछि उनीहरुलाई तीन वटा अस्पतालको आईसोलेसनमा राखिएको हो।

कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ बर्षीय युवकलाई टीकापुर अस्पताल, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बर्षीय युवकलाई डडेल्धुरा अस्पताल र बैतडीको शिवनाथ गाउँपालिकाका २२ बर्षीय य्ुवकलाई बैतडी जिल्ला अस्पतालको आईसोलेसनमा राखिएको हो। 

सबै संक्रमितलाई सेती प्रादेशिक अस्पतालमा ल्याउने तयारी भएपनि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएकाले सम्बन्धित क्षेत्रकै अस्पतालमा भर्ना गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो। 
 

कमेन्ट लोड गर्नुस