सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर काेरोनाबाट ५१ लाख बढी संक्रमित, ३ लाख २९ हजारको मृत्यु

२०७७ जेठ ८, ०४:४०

जेनेभा : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ।  

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख ४७४ जना नयाँ संक्रमित भेटिएका छन्। यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ९४ हजार ८१३ जना नयाँ संक्रमित भेटिएका थिए। विगत २४ घण्टामा विश्वभर ४ हजार ६८५ जनाको ज्यान गएको छ। 

प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ७९६ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २६ लाख ९० हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ।  युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। पछिल्लो विवरण अनुसार बेलायतमा ३५ हजार ७०४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ। 

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ। पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ४०३ व्यक्तिको मृत्यु भएको छ। योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९४ हजार ९३६ पुगेको छ।कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ। हालसम्म इटालीमा ३२ हजार ३३०, फ्रान्समा २८ हजार १३२, स्पेनमा २७ हजार ८८८, बेल्जियममा ९ हजार १५०, जर्मनीमा ८ हजार २७० र नेदरल्यान्ड्मा ५ हजार ७४८ जनाको मृत्यु भएको छ। 

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १८ हजार ८९४ को मृत्यु भएको छ। इरानमा ७ हजार १८३, मेक्सिकोमा ६ हजार, क्यानाडामा ६ हजार, चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ। –रासस/एएफपी  
 

कमेन्ट लोड गर्नुस